जेठ २० गते पछि लकडाउनको मोडालिटी फेरिने !

काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै जेठ अन्त्यसम्म कायम राख्ने निर्णय गरेको छ । २० गतेसम्म कायम रहेको लकडाउनलाई अवस्था र ठाउ हेरी मोडालिटी परिवर्तन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोडालिटी तयार पारेर ल्याउन कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । समितिले ठाउ र अवस्था हेरेर मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेछ । सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले २० गते पछाडीको लकडाउनलाई कसरी व्यस्थित गर्ने भन्नेबारेमा समितिलाई प्रस्ताव पेश गर्न निर्देशन दिइएको बताए । ‘यो लकडाउनको अवधिमा यसलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ भनेर उच्चस्तरीय समन्वय समितिले छलफल गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय भएको छ’, उनले भने ।

लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको मन्त्री खतिवडाले बताए । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । मन्त्री खतिवडाले परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने पनि बताए । सरकारले असार १६ गतेसम्म सीमा नाका र अन्तराष्ट्रिय उडान बन्द राख्ने पनि निर्णय गरेको छ ।

यसैगरी, भारतलगायत अन्यदेशबाट नेपाली ल्याउदा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप स्वास्थ्य जाँच गरेर मात्र ल्याउने वा लैजाने भन्ने विषयमा पनि छलफल भएको छ । त्यसै अनुरुप ति देशसँग छलफल गर्ने निर्णय भएको पनि मन्त्री खतिवडाले जानकारी दिए । यसैगरी सीमा क्षेत्रमा थप कडाई गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ । सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।

प्रकाशित : आइतबार, जेठ १८, २०७७०२:१९

कोरोना भाइरस परीक्षणको रिपोर्ट आउनु भन्दा अगाडी नै हृदयघात !