नेपालमा बढ्दै कोरोनाको रफ्तार, १६ दिनमा ८ जनाको मृत्यु ! मृत्यु हुनेमा को-को ? [सूचीसहित]

काठमाडौँ – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । जेठ १४ पछि लगातार दैनिक सय भन्दामाथि सङ्क्रमित भेटिन थालेका छन् । शनिबार सम्म मात्रै चार दिनमा ६२९ संक्रमित फेला परेका छन् ।

गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो । पछिल्लो जेठ १२ पछि भने सङ्क्रमणको गति झन् बढ्दो छ ।

यहि जेठ १७ गते एकै दिन १८९ मा भएको थियो भने जेठ १६ गते शुक्रबार पाँच महिलासहित १७० जनामा कोभिड–१९ पुष्टि भएको थियो । जेठ १५ गते १५६ जनामा सङ्क्रमण देखिएको थियो । जेठ १४ गते ११४ फेला परे । जेठ १३ मा ८४, १२ गते ७२, ११ गते १९ तथा १० गते ३२ जना सङ्क्रमित भेटिएका थिए ।

चीनको उहानबाट आएका एक नेपालीमा पहिलो पटक विसं २०७६ माघ ९ मा कोभिड– १९ पुष्टि भएको थियो । त्यसयता क्रमिक रुपमा बढेको संक्रमण अहिले रफ्तारमा अगाडी बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ५ हजार सम्म कोरोना संक्रमित फेला पर्ने अनुमान गरेर तयारी थालेको छ।

भारतमा कोरोना फैलिने क्रम बढेसँगै नेपाल उच्च जोखिममा छ। भारतमा अहिले १ लाख ८० हजार भन्दा बढी संक्रमित फेला परिसकेका छन्। सीमानाकाबाट नेपाल भित्रिनेहरु धेरैमा कोरोनाको पुष्टि भइरहेको छ। यस हिसाबले नेपालमा कोरोनाको मुख्य श्रोत भारत हो। लकडाउनका बाबजुत पनि कोरोना संक्रमण फैलिएपछि नेपालमा कोरोनाले भयाभह रुपमा लिन सक्ने चिन्ता थपिएको छ।

नेपालमा अहिले सम्म कोरोनाका कारण ८ जनाले ज्यान गुमाइसकेका छन्। आइतबार बिहान मृत्यु बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी बालिकामा कोरोनाको पुष्टि भएसँगै नेपालमा मृतकको संख्या ८ पुगेको हो।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा सबै भन्दा पहिलो मृत्यु जेठ २ गते सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो भने उनीमा जेठ ३ गते कोरोनाको पुष्टि भएको थियो। नेपालमा अहिले सम्म कोरोनाका कारण मृत्यु भएका एक जना बाहेक सम्पूर्णमा मृत्यु पश्चात कोरोनाको पुष्टि भएको छ। जसले नेपालको परीक्षण क्षमता माथि प्रश्न उठाएको छ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेमा को-को ?

१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिला: २ जेठमा निधन, ३ जेठमा कोरोनाको पुष्टि
२. ३० वैशाखमा भारतबाट फर्किएका बाँके नरैनापुरका २५ वर्षीय युवक: ४ जेठमा निधन, जेठ ४ गते निधनपछि कोरोनाको पुष्टि
३. गुल्मीका ४१ वर्षीय शिक्षक : ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भई ८ जेठमा निधन
४. बाराका ७० वर्षीय वृद्ध: क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा निधन, १२ जेठमा कोरोनाको पुष्टि
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष: १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा निधन, १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष: भारतबाट फर्किदा १० जेठमा बाटोमै निधन, १६ जेठमा संक्रमणको पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष: पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा जेठ १७ गते निधन, १७ जेठमा कोरोना संक्रमणको पुष्टि
८. बाजुरा बूढीगंगा नगरपालिका-१ की दुई वर्षीया बालिका: जेठ १८ गते बाजुराको जिल्ला अस्पतालमा निधन, जेठ १८ गते नै कोरोनाको पुष्टि

प्रकाशित : आइतबार, जेठ १८, २०७७१०:०३

प्राधिकरणका आठ लाख ग्राहकलाई राहत, निःशुल्क विद्युत् !