काठमाडौँ – आइतबार एकै दिन १ सय ६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा विभिन्न जिल्लाका १६२ जना पुरुष र ४ महिलामा कोरोनाको पुष्टि भएको बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार तनहुँका १, स्याङजाका २, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलवस्तुका ५, बाँकेका ८, नेपालगञ्जका ४, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङमा १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबारको पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। कुल संक्रमित मध्ये १४५० पुरुष र ११७ जना महिला रहेका छन्।
यस्तै आइतबार एक जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। आइतबार भरतपुर अस्पतालमा उपचाररत मकवानपुरका २५ वर्षिया महिला डिस्चार्ज भएकी हुन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमण जितेको निको हुनेको संख्या २ सय २० पुगेको छ। जस मध्ये १७२ जना पुरुष छन् भने ४८ महिला छन्।
मन्त्रालयका प्रवक्ताले प्रदेश अनुसार प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०४ जना, बागमतीमा २९ जना, गण्डकीमा ३ जना, प्रदेश ५मा ४८ जना र सुदुरपश्चिम प्रदेशमा ६ जना निको भएको जानकारी दिए।