“किन चाहियो यत्रा सांसद ?, ५५ प्रतिशत कटाउनुपर्छ”

काठमाडौँ – : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद सुदन किरातीले सांसदहरु संख्या घटाउन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बजेट माथिको छलफलको क्रममा सांसद सुदन किरातीले खर्च कम गर्न सांसदहरुको संख्या पनि कटौती गर्नुपर्ने बताएका हुन्।

आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौती गर्न सरकारले ल्याएका नीति राम्रा भएपनि नेपालमा भएका सांसदको संख्यामा कटौती गर्न उनले माग गरे।

“कर्मचारी नयाँ नियुक्ति नगर्ने भनिएको छ। खर्च कटौतीको निम्ति यो सकारात्मक कुरा हो। संविधान संसोधन गरेर ५५ प्रतिशत सांसदहरु पनि कटाइदिऊँ। किन यत्रो धेरै सांसद राख्‍नु पर्यो नेपाललाई? जनताले पनि त्यसै भनिराखेका छन्।”,उनले भने।

यस्तै उनले सीमानामा सेनालाई नखटाउने भए सेनाको संख्या घटाइनु पर्ने पनि बताएका छन्। सीमारक्षामा खटाइनुपर्ने सेनालाई अन्य कार्यमा खटाइएको भन्दै उनले आक्रोश पोखे।

“सार्वभौमसत्ता माथि गम्भिर प्रश्‍न उठिराखेको बेला सिमानामा सेना खटाउन सकिँदैन भने सेनाको पनि संख्या घटाइदिऊँ। सेना आज प्लटिङ गर्दैछ, पेट्रोलपम्प खोलेर राजयको तलब खाएर पेट्रोल भर्दै बसेको छ। सेनाको आफ्नै अदालत छ रे! कता कता सुन्छु जेल पनि आफ्नै बनाउँदै छ। के यो दोहोरो राज्यसत्ताको अभ्यास गर्न खोजिएको हो?”,उनले भने।

प्रकाशित : आइतबार, जेठ १८, २०७७१२:३०

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु पनि !