काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सांसद गंगा चौधरी सतगौवाले प्रतिनिधिसभामा भारतीय चेलीको दादागिरी बढेको आरोप लगाएकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेपालको अनेक भूभाग मिचेर भारतले दादागिरी देखाइरहेको अवस्थामा संसदमा पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको टिप्पणी गरिन्।
“अनुदानसँग जमिन र स्वाभिमान तथा राष्ट्रियता कदापी साट्न सकिँदैन। नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ??”,उनले भनिन्,”आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने ? यो कस्ता बिडम्बना हो ?”
प्रधानमन्त्रीले समृद्धिका सपना र योजना फ्याँक्नासाथ भारतीय खुफिया एजेन्सी ‘र’ का एजेन्टहरु १५ दिनसम्म घाइते हुने गरेको र सरकारलाई असफल पार्न सबै शक्ति लगाएर उफ्रिने गरेको पनि उनले दावी गरिन्।
“जब यो देशका प्रधानमन्त्री समृद्धिका सपना र योजना फ्याँक्छन्, तब भारतीय खुफिया एजेन्सी र का एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन्। त्यो सपनाको विरुद्धमा सबै शक्ति लगाएर बुरुक्क-बुरुक्क उफ्रिन थाल्छन्।”,उनले भनिन्।
केहि दिन अगाडी समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल सरकारले एकतर्फी रुपमा नक्सा सार्वजनिक गरेको प्रति आपत्ति जनाएको प्रति लक्षित गर्दै सांसद गंगा चौधरी सतगौवाले सोमबार यस्तो टिप्पणी गरेको बुझिएको छ।