काठमाडौँ – कोरोना भाइरस संक्रमण पुष्टि भएका बिरामीहरुले घरमै बस्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।
सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता देवकोटाले लक्षण नदेखिएका र स्वास्थ्य अवस्था राम्रो देखिएका संक्रमितहरुले घरमै बस्नुपर्ने अवस्था पनि आउन सक्ने बताए।
संक्रमित बढेसँगै संक्रमितहरुलाई स्थानीयस्तरमै रहेका क्वारेन्टाइन तथा सुरक्षित ठाउँमा राख्न सकिने र यदि त्यस्तो हुन नसके संक्रमितहरुलाई घरमै राख्ने व्यवस्था गरिने देवकोटाको भनाई छ।
“संक्रमितहरुको संख्या बढेसँगै हामीले संक्रमित र बिरामी भनेर छुट्याउनु पर्ने हुन्छ। लक्षण नदेखिएका संक्रमितहरुको लागि क्वारेन्टाइन अथवा आइसोलेसन अपुग भएको अवस्थामा घरमै बस्नुपर्ने अवस्था पनि आउन सक्छ।”,उनले भने।
देशमा विभिन्न स्थानमा रहेको क्वारेन्टाइनको व्यवस्थापनलाई स्थानीय तहले प्रदेश सरकारको समन्यवमा गर्नुपर्ने पनि बताएका छन्। सुरक्षा, सरसफाई देखि खान-पानको व्यवस्था स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार आफैंले अनुगमन गर्न र मापदण्ड नपुगेको खण्डमा स्वास्थ्य मन्त्रालयलाई सम्पर्क गर्न स्थानीयनिकायहरुलाई उनले आग्रह गरे।
सोमबारको अपडेट अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ। बितेको २४ घण्टामा २ सय २६ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको हो।
झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जना गरी २ सय २६ जनामा कोरोनाको पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।