काठमाडौं – सरकारले असार पहिलो सातादेखि विद्यार्थी वर्गीकरण गरी सोहीअनुसार १० जनासम्मको समूहमा पढ्न मिल्ने गरी विद्यालय खुला गर्ने तयारी गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकालाई आधार मानेर कक्षा सञ्चालन गर्ने गरी तयारी गरेको छ । मन्त्रालयले प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिइसकेको छ । निर्देशिकामा विद्यार्थीलाई पाँच किसिममा वर्गीकरण गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
कुनै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो, एफएम रेडियो र मोबाइल रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहमा वर्गीकरण गरी सोहीअनुसार पठनपाठन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई÷डेढ साताअघि देशवासीको नाममा सम्बोधन गर्ने क्रममा विद्यार्थीको शैक्षिक सत्रलाई असर नपर्ने गरी पठन पाठन शुरू हुने जनाउनुभएको थियो । सोही भनाइलाई आधार मान्दै अनलाइनबाट कक्षा सञ्चालन गर्न गठित समितिले प्रतिवेदन तयार गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई हस्तान्तरण गरेको थियो । सो समितिले दिएको प्रतिवेदनको आधारमा निर्देशिका तयार गरेको हो ।
विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठनको सहज अवस्था नभएसम्मका लागि दूर तथा खुला शिक्षा र वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न मापदण्ड तयार गरेर छलफलका क्रममा रहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले सो निर्देशिका प्याब्सन, शिक्षक महासंघलगायत संघ–संस्थालाई उपलब्ध गराएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहलाई बढी जिम्मेवारी दिने गरी विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘निर्देशिकाअनुसार असारबाट विभिन्न माध्यमबाट पठनपाठन शुरू गर्न निर्देशन दिइसकेका छौं ।’