केके मार्ट र धन्वन्तरि ट्रेडर्सलाई कारवाही

सांकेतिक तस्विर

काठमाडौँ – बढी मूल्यमा म-दिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा नेपाली म-दिरा बिक्री गरेवापत क्षेत्रपाटीस्थित केके मार्टलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार रु ६५० को म-दिरालाई रु ७९० मा बिक्री गरेको भेटिएपछि उक्त मार्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको हो । “उपभोक्ताको गुनासोपछि अनुगमनका लागि हामी मार्टमा पुगेका थियौँ, अनुगमन टोलीले नै वाइन खरीद गर्दा बढी मूल्य लिएको भेटेपछि कारवाही गरिएको होे”, उनले भने।

त्यस्तै आज नै हाँडीगाउँस्थित धन्वन्तरि ट्रेडर्सले बिलबिजक जारी नगरी पतञ्जलि आयुर्वेदका सामान बिक्री गरेवापत रु दुई लाख जरिवाना गरिएको छ । उपभोक्ताको गुनासोलाई आधार बनाएर लकडाउन अवधिमा खाद्यान्न, सर्जिकललगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को कार्यान्वयनका लागि यही जेठ १४ गतेको निर्णयानुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको जनाइएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७०९:५५

क्‍वारेन्टाइनमा बसेकालाई नदीले बगायो !