काठमाडौँ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा कोरोनाको पुष्टि !

काठमाडौँ – काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

मंगलबार टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौँ मेडिकल कलेजका(केएमसि) अस्पतालका ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा २४ देखि ३२ वर्ष सम्मका ३ महिना र २८ वर्षका पुरुष रहेका छन्। चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

मंगलबार काठमाडौँ मेडिकल कलेजका(केएमसि)का ४ जना सहित देशभर २ सय ८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जससँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ।

मन्त्रालयका प्रवक्ताले काठमाडौं मेडिकल कलेजका ४ जना सहित रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, नवलपराी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

यस्तै नेपालमा थप ४५ जना डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालमा उपचार भइरहेका ४५ जना डिस्चार्ज भएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ सय ६६ पुगेको छ। संक्रमण निको भएर घर फर्किनेमा २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन्।

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७११:०६

अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास मान्य !