स्वास्थ्य परीक्षण गराउन जाँदा अस्पतालबाट कोरोना सर्यो, स्वास्थ्य कर्मीमा पनि संक्रमण !

काठमाडौँ – मंगलबार कोरोना भाइरस पुष्टि भएकी भक्तपुर चाँगुनारायणकी ३० वर्षीया महिला गर्भवती रहेको खुलेको छ। चाँगुनारायण नगरपालिका–३ का वडाध्यक्ष श्यामसुन्दर धिमालका अनुसार मंगलबार कोरोना संक्रमण भएकी महिला गर्भवती रहेकी छन्।

उनी चाँगुनारायण नगरपालिका–३ की स्थानीय रहेको बताइएको छ। लकडाउनको समयमा उनी अस्पताल बाहेक अन्त कतै नगएको खुलेको धिमालको भनाई छ।

उनका अनुसार संक्रमित महिला स्वास्थ्य परीक्षणका लागि अस्पताल बाहेक अन्त कतै गएको ट्राभल हिस्ट्री छैन। लकडाउनको अवधिमा उनी २-३ पटक सम्म काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) गएको बुझिएको छ। पछिल्लो पटक उनी जेठ १५ मा स्वास्थ्य परीक्षणका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेकी थिइन्।

गत बैशाख २२, जेठ ५ र जेठ १५ गरी उनी नियमित स्वास्थ्य परीक्षणका लागि ३ पटक केएमसी अस्पताल पुगेको थाहा हुन आएको छ। यहि महिना सुत्केरी हुने मिति दिइएकी उनको कोरोनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष धिमालको भनाई छ।

गर्भमा शिशुको अवस्था ठिक नभएकाले उनको शल्यक्रिया गर्नुपर्ने बताइएको छ। शल्यक्रिया गर्नु अगाडी गरिएको कोरोना परीक्षण पोजेटिभ आएपछि उनलाई दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा राख्न आग्रह गरिएको वडाध्यक्षल बताए।

संक्रमित महिला अहिले घरमै छिन्। संक्रमित क्षेत्र सिल गरेर प्रहरी परिचालन गरिएको छ। उनको सम्पर्कमा आएका परिवार र अन्य व्यक्तिहरुको विवरण संकलन गरी परीक्षणको तयारी गरिएको छ।

मंगलबार काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालका ४ जना स्वास्थ्य कर्मीमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। जस मध्ये ३ जना महिला र एक जना पुरुष छन्। स्वास्थ्य परीक्षण गराउन गएकी महिलामा समेत कोरोनाको पुष्टि भएपछि अस्पतालका अन्य कर्मचारीको पनि परीक्षणको तयारी गरिएको छ।

प्रकाशित : बुधबार, जेठ २१, २०७७०३:५९

गाउँको बाटो हिँड्दा कोरोना फैलिने भन्दै स्वास्थ्यकर्मीमाथि आ-क्रमण, तीन जना पक्राउ !