समालोचना
दिल पौडेल, ललितपुर
विषय प्रवेश :
गोपाल सञ्जेल (२०२६, वागमती ५, इकुडोल, ललितपुर) नेपाली साहित्यमा सुपरिचित नाम हो । समाजशास्त्र विषयमा पाटन संयुक्त क्याम्पसबाट स्नातकोत्तर तह उतीर्ण सञ्जेलको २०४५ सालदेखि फुटकर कविता प्रकाशित भएपछि साहित्यिक यात्राराम्भ भएको देखिन्छ । साहित्यमा काव्य, आख्यान र निबन्धमा कलम चलाउँदै आएका सञ्जेलका निम्न कृतिहरु प्रकाशित भएको पाइन्छ : १. उज्यालो बाटोतिर (कवितासङ्ग्रह २०४८), २. अनुभूतिका रेखाहरु (निबन्धसङ्ग्रह २०५७), परिवर्तनको पक्षमा (निबन्धसङ्ग्रह २०६३), ४. प्रसङ्गवश (निबन्धसङ्ग्रह २०६५), ५. मै हराएँ आज (गजलसङ्ग्रह २०६७), ६. बिस्मात (उपन्यास २०६९), ७. पत्थर पगाल्दै (निबन्धसङ्ग्रह २०७०), ८. अयोग्य (लघुउपन्यास, संयुक्त लेखन २०७१), ९. मभित्र म खोजेर (हाइकुसङ्ग्रह २०७३), १०. निशब्दका शब्द (कवितासङग्रह २०७३) ।
कुनै समय राजनीतिमा सक्रिय सञ्जेल अध्ययनशील र बौद्धिक व्यक्तित्व हुन् । २०४९ र २०५४ मा इकुडोल गाविस– अध्यक्ष निर्वाचित भएका सञ्जेलको म यहाँ गहकिलो कृति बिस्मात उपन्यासको सामान्य चर्चा गर्न चाहन्छु ।
बिस्मात उपन्यासको विश्लेषण :
गोपाल सञ्जेलद्वारा लिखित बिस्मात उपन्यास प्रकाशित कृतिमध्ये छैटौँ तर औपन्यासिक कृतिका आधारमा पहिलो कृति हो । अमेरिका बस्ने कृष्ण सञ्जेलले २०६९ सालमा उपन्यास प्रकाशित गरेको पाइन्छ । १४९+ ४ पृष्ठभित्र छब्बीस खण्डमा संयोजन भएको यस उपन्यासमा डा. दीनबन्धु शर्माको भूमिका समेटिएको छ । गृहयुद्धले जन्माएको भय, आतङ्क र सन्त्रास यस उपन्यासको प्रमुख घटना हो । उपन्यासले ग्रामीण परिवेशमा छक्कापञ्जा गर्न नजान्ने भोलाभाला समाजमाथि भएको राजनीतिक विकृतिको नाङ्गो नाच उजागार पारेको छ । तसर्थ यो उपन्यास आलोचनात्मक यथार्थवादी उपन्यास हो । यस लेखनमा बिस्मात उपन्यासलाई यस प्रकार विश्लेषण गर्न सकिन्छ : १. संरचना २. रुपविन्यास ।
१. संरचना : यसभित्र उपन्यासको खाका, स्वरुप, आकार र कथावस्तु समेटिन्छन् । घटना र पात्रको अन्योन्य सम्बन्ध भएका स्थूल तत्त्वहरु कथावस्तु, पात्र, वातावरण, दृष्टिकोण र सारवस्तु पर्दछन् । जुन यसप्रकार छन् ः
क. कथावस्तु :
पृष्ठभागमा यस उपन्यासको पात्रहरुलाई गैरीगाउँको वनजङ्गलको भ्रमण गराइएको छ । । आठ÷नौ कक्षाका पात्रहरु शनिबारको दिन काफल, ऐँसेलु, चुत्रो खाने कार्यक्रममा सरिक भै बालापनको स्वतन्त्र उडानमा रमेका छन् । यसै गैरीगाउँका बालपात्रसहित यस उपन्यासको प्रमुख पात्र विकासलाई प्रक्षेपण गरिएको छ । यसै बालापनको उछृङखलता स्वरुप किशोर विकासले सहकर्मी विमलालाई प्रेमपत्राचार गर्दैगर्दा दश कक्षामा तेस्रोपटक जाँच दिने अवस्था सिर्जना हुन पुग्छ । छोरा फेल भएपछि शिक्षकलाई धम्क्याउनी उसको बाबु वीरबल गाविस अध्यक्ष पदमा दुईपटक चुनाव हारेको पात्र हुन्छन् । स्थानीय शिक्षकहरु पनि कुनै न कुनै पार्टीमा आवद्ध छन् । प्रअ वीरेन्द्र वीरबलको धम्कीसँग डराउँदैनन् । प्रजातन्त्र आएको केही वर्ष नबित्दै पञ्चायती शासकहरु प्रजातान्त्रिक पार्टीभित्र हर्ताकर्ता भएका हुन्छन् । शिक्षकहरु र स्थानीय अन्य कर्मचारीहरु पनि त्यो प्रवृत्तिबाट अछुतो रहँदैनन् । त्यसैकारणले शैक्षिक गुणस्तर कमजोर भएको अभिभावकहरुले आक्षेप लाउँछन् । बहुदलको मर्म बुझ्ने गाउँमा कोही नभएको मूल्याङ्कन गर्ने वीरबल शासनप्रति असन्तुष्ट छन् । वास्तवमा यस बिस्मात उपन्यासको केन्द्रीयता प्रमुख पात्र विकासको उन्माद र बिस्मातको परिवेष्ठित छ ।
प्राकृतिक रुपमा मनोहर गैरीगाउँको परिवेश छ । भर्खरै मावि स्कुल निर्माण हुँदैछ । स्वास्थ्यचौकी समेतको बहुउद्देश्यीय भवन पनि थपिँदै छ । बाटोघाटो खुल्दैछ । महिलावर्ग घरको चारभित्ता भित्रै खुम्चिएका छन् । रोजगारीको कुनै गुञ्जायस छैन । बेरोजगार युवाहरु खाडी मुलुक जान पासपोर्ट बनाउँदैछन् । धर्मकर्ममा अगाध आस्था राख्ने सामाजिक संरचना छ । सोझा इमान्दर गाउँलेको बसोबास छ । मर्दापर्दा निस्वार्थ सहयोग गर्ने संस्कार कायम छ । तर बहुदल आएपछि गाउँलेहरुमा अरुलाई आदर, सम्मान र विश्वास गर्ने प्रवृत्तिमा कमी आउँछ । जरुरी पर्दा आफ्नो पार्टीको समर्थक खोज्ने र सहयोग गर्ने चलन बढ्छ । जन्ती मलामी पनि विचार मिल्नेहरुको बीचमा मात्रै सम्पन्न हुन थाल्छ । किनकि पार्टीमा दलाल, ठेकेदार र भ्रष्टहरुको बिगबिगी मौलाउँछ । अर्कोतिर विकासका आफन्त प्रहरी हवल्दार विराज र सेनाको लेसनायक विजयको गाउँमा बेग्लै शान र मान छ । जागिरेका घर र समाजको विश्वासको कारण विकासजस्ता किशोरको मनमा ठेस पुग्दछ । सपनाको रानी विमलाको घरमा सहरबाट आएका शिक्षक विनयको बसोबास भएपछि उसले पनि बेवास्ता गर्दछे । गाउँमा गाविस अध्यक्ष वीरध्वज छ, पार्टीमा छिर्की हान्ने र खसाल्ने होडबाजी जारी रहन्छ । ‘जसका लाठी उसका भैँसी’को उखान चरितार्थहुँदै जान्छ । मूलतः बहुदलीय शासनको असमानता, विभेद र पक्षपातको कारण उत्पन्न द्वन्द्वको विषयवस्तु यस उपन्यासमा चित्रित छ । साथै शिक्षक विनय र वसन्तीको प्रेमकथाको आकर्षण पनि छ । पात्र बलराम दमाईको विष्टहरुमाथिको सद्भाव र सम्मान पराम्परागत रहे पनि उसको छोरा बच्चुको विद्रोहीसँग झुकाव छ । यस्तै अन्याय, अत्याचार, भ्रष्टाचार र दमनको अव्यवस्थाप्रति राजनीतिको विकृत रुपमा कथावस्तु केन्द्रित छ । यसरी गैरीगाउँमा स्वार्थी र सङ्कीर्ण राजनीतिक पद्धतिका कारण अवसरवादीहरु मौलाउँदै गएपछि विद्रोही पार्टीको आगमन हुन्छ र उनीहरुको नयाँ सत्ता प्राप्तीको कार्यक्रम अगाडि बढ्छ । सभासम्मेलन, प्रशिक्षण र अन्त्यमा प्रहरीचौकी आक्रमण गर्दा समेत नयाँ सत्ता पार्टीले गैरीगाउँका जनतालाई चरम दुःख दिइरहन्छन् । शिक्षकहरुले प्रत्यक मासिकमा एक दिनको चन्दा विद्रोहीलाई बुझाउने नियमको पालना गरिरहनुपर्छ । नयाँ सत्ताको पहिलो निशानामा स्थानीय जनप्रतिनिधिहरु परेका छन् भने दोस्रोमा विद्यालयका शिक्षक र विद्यार्थी पर्दछन् । कुनै दिन नयाँ सत्ताका पात्रहरु बिद्रोही, विकल्प, बारुद, बतास, बदला, बेतोड, विरोध, बलिदान, बङ्कर आदिले गाउँलेहरुलाई भेला गरी गाविस भवनमा आग्लागी गर्दछन् । एउटै भवनभित्र रहेका अन्य कार्यालयहरु पनि जलेर सखाप हुन्छन् । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको विरुद्धमा नयाँ सत्ताको उद्भव भएकाले सबै जनताले साथ र सहयोग दिनुपर्ने प्रशिक्षण दिन्छन् । शिक्षक र विद्यार्थीहरु अपहरण गर्दछन् र चाहेको स्थलमा पु¥याएर दुई÷चार दिनसम्म प्रशिक्षण दिई भोकै प्यासै फिर्ता पठाउँछन् ।
यसरी गैरीगाउँमा हुने कार्यक्रममा पनि अन्यत्रबाट अपहरण गरी ल्याएका पाहुनालाई घरघरै गाँस बासको प्रबन्ध मिलाउन आदेश दिन्छन् । आदेश पालना नगरेमा भ्रष्टाचारी र व्यभिचारीको आरोप लगाएर माथिको टिकट काटी दिने सूचना सार्वजनिक स्थलमा टाँस गर्छन् । विद्रोहीले विद्यालयमा घरधुरी भेला पारेर कार्यक्रम आयोजना गर्दछन् । भीत्तेलेखन देखेर शिक्षकहरुमाथि सुरक्षाकर्मीले दागा धर्छन् । यसरी दोहोरो चपेटामा परेका गैरीगाउँका जनाताहरु भय, आतङ्क र सन्त्रासमय वातावरणमा बाँच्न विवश छन् ।
विद्यालयमा भएको विद्रोहीको पहिलो कार्यक्रममा नै विनय सरले स्वागत भाषण गर्दछन् । समयको अन्तरालमा पक्राउ परेका शिक्षक बमबहादुर सरसँगै प्रहरी खोरबाट दुवैजना बेपत्ता पारिन्छन् । त्यस्तै शिक्षकसाथी पक्राउ परेका बेला सुराकी ठानेर बुझ्न आएका विद्रोही र प्रहरीको बीच स्कुलमै गोली हानाहान भएर एक जना विद्रोहीको निधन हुनपुग्छ । त्यस काण्डपछि प्रअ वीरेन्द्रलाई सजायको घोषणा गर्दछन् र प्रअ वीरन्द्रलाई स्कुल नजिकैको रुखमा बाँधेर छ्याकछ्याक काटिदिन्छन् । ती अरु कोही परचक्री नभएर आफूले पढाएका विद्यार्थी बच्चु दमाई (बङ्कर), विकास (बलिदान) र बैकुण्ठेहरुको टोली हुन्छन् ।
गाविस भवन ध्वस्त भएपछि प्रहरीले सर्जमिन उठाउँछन् । साक्षी बस्नेहरु वीरध्वज र बद्रीलगायतलाई विद्रोहीले लाखौँ चन्दा लिएर सदरमुकाम पलाएन हुन बाध्य पारेका हुन्छन् ।
‘बन्दुकले चोट दिन्छ, भोट होइन,’ वीरबलको घरमा सुरक्षाकर्मीले छापा मार्छन् । १४ वर्षकी छोरी बिजुलाको किताबमा पर्चा पाइएपछि सैनिक हिरासत लगेर नाङ्गै पारी बलात्कार गरी खाल्डो खनेर गाडी दिन्छन् ।
पिता बेलप्रसादको मृत्यु भएपछि क्रिया बसेका प्रहरी विराजलाई प्रतिक्रियावादी शासकको मतियार भनेर एकघन्टा टाढाको खोलामा पु¥याइ विद्रोहीहरुले गोली ठोकेर मारिदिन्छन् । सशस्त्र क्रान्तिकारीहरुले कुनै दिन गाउँलेहरुलाई मानवढाल बनाएर महादेवटार प्रहरीचौकी आक्रमण गर्न लैजान्छन् । भिडन्तमा सम्पूर्ण प्रहरी मारेर विजयको अट्टाहास छोड्छन् ।
भट्टी पसल्नी बुदुनीको पसल तोडफोड गरी उनैलाई विद्रोहीले वेपत्ता पर्छन् । उता सुरक्षाकर्मीको यातना पाएर पक्राउ परेका अन्य सर्वसाधारण पनि वेपत्ता पारिन्छन् । मानवले बाँच्न पाउने हकको उल्लङ्घन गरेको उपन्यासको कथावस्तु हृदयविदारक र मार्मिक छ ।
अन्त्यमा, केटी र भेटीको आरोप लागेपछि छापामार विकासले राज्यपक्षसँग आत्मसमर्पण गरी सामान्य जीवनयापन गर्ने अभिलाषा राख्दछ । यसरी बहुदलीय व्यवस्थाको अदुरदर्शीता र दुषित चलखेलबाट जन्मेको नयाँ सत्ताको त्रासदीपूर्ण स्थितिमा बाँचेका गैरीगाउँका बासिन्दाको दर्दनाक पीडा अिन कहालीलाग्दो भोगाइ नै बिस्मात उपन्यासको प्रमुख कथावस्तु बन्न पुगेको छ ।
यस उपन्यासको कथानक रैखिक ढाँचाको रुपमा अघि बढेको पाइन्छ । फ्रेटागको कथानकीय संरचना विन्यासका रुपमा आरम्भ, संघर्ष, विकास, चरम संघर्षह्रास र उपसंहारजस्ता कथानकका पाँच अवस्थालाई पालना गरिएको छ ।
ख. चरित्रचित्रण :
यस उपन्यासमा पात्रको बहुलता पाइन्छ । विद्रोही र राज्यपक्षका हिंसात्मक पशुवृत्ति भएका सुरक्षाकर्मी र विद्रोही अनि सोझा स्थानीय शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र कृषकहरुको उपस्थापनासँगै यस उपन्यासको आयोजना गरिएको छ । यस उपन्यासमा प्रमुख, सहायक र गौण पात्रहरुले कथानकलाई गतिशील बनाएका छन् । विद्रोही पात्रहरुको आतङ्कले गाउँलेहरुको अस्तित्व सङ्कटमा परेको छ । वीरध्वज, वीरबल र बद्री बहुदलीय सत्ताका प्रतिनिधि पात्र हुन् भने वीरेन्द्र, विनय र बमबहादुर र विन्देश्वर लगायतका शिक्षक अभिनित पात्रहरु छन् । बलराम दमाईको परिवार दलितको भूमिकामा पाइन्छ भने विद्यार्थीहरु बिजुला, विमला, विनोद, बवीलगायत दर्जनौँ सहायक भूमिकामा पाइन्छन् । स्थानीयमध्ये रोजगारी पाएका प्रहरीतर्फ विराज र सेनामा विजय समाविष्ट भएका हुन्छन् । प्रेमाकर्षण तथा रतिरागात्मक विषयक भूमिकामा सहरबाट आएका शिक्षक विनय र कक्षा आठसम्म पढेकी स्थानीय वसन्तीको सामान्य घटनासम्मको तारतम्य मिलाइएको छ । श्रीमतीको भूमिकामा बिना, बन्दना, बसुधा, विष्णुमती आदि भेटिन्छन् । आमा बनेकी बिना (विनयकी आमा) विष्णुमती, बन्दना, वसुधालगायत सबै धर्मकर्ममा आस्था राख्छन् । अपवाद छोडेर सबै पात्रहरु ‘ब’ र ‘व’ अक्षरबाट नामाङ्कन भएका छन् । उता सशस्त्र विद्रोहीहरु पनि विकल्प, विप्लप, बिद्रोह, बदला, बेतोड, बतास, बङ्कर आदि ‘ब’ बाट नै प्रारम्भ भएका छन् । विनय सरको घरबेटी स्थानीय विष्णुहरि बनेका छन् । जसका तीन सन्तान वसन्ती, विमला र विशु छन् । प्रहरी विराजको फुपूको छोरा विकास जनसरकार प्रमुख बन्छ । अरु गाउँले साथीहरु बैकुण्ठे, वीरे, बच्चु आदि विद्रोहीतर्फका महत्वपूर्ण जिम्मेवारी पाएका हुन्छन् । जसले कोराबास बसेका बेला पर खोलामा लगेर गोली हानी विराजको हत्या गर्छन् ।
पात्रहरुले नै कथालाई उर्जा प्रदान गर्दछ । कथानकका लागि आवश्यक पर्ने उपकरणहरु क्रियाव्यापार ९ब्अतष्यल० र द्वन्द्व ९ऋयलाष्अित० को प्रत्यक्ष सम्बन्ध पात्रसँगै हुन्छ । उपन्यासकारले पात्रहरुको अभिप्रेरणा ९ःयतष्खबतष्यल० र स्थिरताको ९ऋयलकष्कतभलअथ० का लागि चरित्राङ्कन गर्दा प्रत्यक्ष विधिलाई प्रयोग गरेका छन् ।
उपन्यासमा सत्तापक्षीय जनिप्रतिनिधि पात्रहरु निरासावादी, इमान्दार र भोलाभाला पाइन्छन् भने विद्रोही पक्षका पात्रहरु अधम बलमिच्याइँ प्रवृत्ति भएका पाइन्छन् ।
प्रअ वीरन्द्रलाई सुराकीको आरोप लगाई कमरेड विप्लपको टोलीले लछारपछार गर्दै रुखमा बाँधी गोली ठोक्नु अधम पात्रको उदाहरण हो । क्रुर र हिंस्रक पात्रहरु सेना र प्रहरीतर्फ पनि पर्दछन् । शिक्षक विनयलाई यातना दिई वेपत्ता पार्ने महादेवटारका प्रहरीहरु र बिजुलालाई बलात्कार गरी हत्या गर्ने सेना (मेजर लप्टन) पशुवृत्तिका खलनायक पात्र हुन् ।
गैरीगाउँमा द्वन्द्वको चपेटामा पिल्सिएका टीठलाग्दा र विविध प्रकारका पात्रहरु पाइन्छन् । दाजु विद्रोही पक्षमा गएका कारण बिजुला पक्राउ परेपछि उनका अभिभावक विक्षिप्त हुन्छन् । जस्तैः वीरबल र विष्णुमती दुवै जना टोला भए । उनीहरुको चेतन झिकिएको छ । (पृ. १२६) त्यस्तै छोरा बच्चु सहिद भएको सुनेपछि बलराम दमाई पनि विक्षिप्त पात्रका रुपमा भेटिन्छन् ।
परम्परागत धर्मलाई थमौती गर्ने पात्रहरु पनि सक्रिय छन् । जस्तै विनय सरको आमा बिनाको दैनिक बिहानीपखको भजन गायन यस्तो छ ः श्रीकृष्ण गोविन्द हरे मुरारे ….. (पृ. ७९)
विद्रोहीले बहुउद्देश्यीय भवन ध्वस्त पारेपछि डरछेरुवा गाउँले बारे लेखक जङ्गिँदै भन्छन्– छरछिमेकीहरुसँगै घन्टौँ रहँदा पनि चुक्क बोलेनन् । (पृ. ५७) तर गाउँलेहरुर्ला आत्मकमजोर भएका कायर र हुतिहारा भन्न सकिन्नँ । किनकि प्राण रक्षाका खातिर उनीहरु अन्या सहन विवश छन् ।
त्यस्तै अविवाहित शिक्षक विनय र वसन्तीजस्ता पात्रहरुको माध्यमबाट प्रेमाकर्षणको भावाव्यक्ति समाविष्ट देखिन्छन् । जस्तैः विनयलाई पानीको करुवा दिँदा उनको हातले वसन्तीको औँला समाइए । वसन्तीलाई खै के को झड्का लाग्यो । उनी विजयको मुखमा हेरेको हेरै भइन् । (पृ. ४७)
राजनीतिक विषयक स्वार्थी र अवसरवादी पात्रहरु ज्यादात्तर मात्रामा गतिशील भेटिन्छन् । विद्रोहीका धाकधम्कीको कारण कतिपय गाउँलेहरु थातथलो छोडेर पलायन भएका पात्रहरु सजीव पाइन्छन् । जस्तैः गाउँमा कुन बेला के हुने हो ? ठेगानै भएन … म त सदरमुकामतिर पो लागेको … । गाविस अध्यक्ष वीरध्वज भन्छन् । (पृ. १२१)
हिंस्रक मनोवृत्ति भएका विद्रोही र सुरक्षाकर्मी बाहेकका विदुरजस्ता पनि मध्यस्थकर्ता पात्र प्रयोग भएका छन् । कतिपय उग्रवादीलाई आत्मसमर्पण गराउँदा यिनले सहयोग गरेका छन् ।
यसरी यिनको उपन्यासमा हिंस्रक र पीडित बहुप्रकारका पात्रहरुको कारण द्वन्द्व सशक्त बनेको पाइन्छ । विद्यार्थीहरु दुःखका सहभागी भएका नेपथ्य पात्रहरु छन् । द्वन्द्वकालीन समयको कष्टकर जीवन भोग्ने अर्को पात्र हो भट्टी पसल्नी बुदुनी जसलाई विद्रोहीहरुले अपहरण गरी वेपत्ता पारी हत्या गरेका छन् । यसरी यो उपन्यास बहुल पात्र प्रयोग भएको उपन्यास हो ।
ग. परिवेश :
गैरीगाउँको भूगोल, राजनीतिक र सामाजिक वातावरणले बिस्मात उपन्यास ओतप्रोत छ । राजनीतिक वातावरण हेर्दा भयावह, सन्त्रासपूर्ण र आतङ्कले भरिएको कहाली लाग्दो परिवेश छ । आतङ्कको झाँकी जताततै लहराएर भ्रमपूर्ण र सन्त्रासले त्रसित बाध्यात्मक निरुपाय त्रासद जीवन भोग्न मानिस विवश भइरहेको छ । अनुशासन, आदर्श र नैतिकताका भड्काइले सज्जनहरु सन्त्रासको अभिसाप जीवन जीउन बाध्य भइरहेका हुन्छन् । विसङ्गतिको चरम नमूनामा क्रुर, पशुवत, बर्बर र अत्याचारको वातावरण उपन्यासमा भेट्न सकिन्छ । आतङ्कित घटनाको सिर्जना गरी त्यसमा त्रस्त जीवन बाँचेका पात्रहरुको अङ्कन गर्नमा सञ्जेलको उपन्यास सफल छ । बहुदलकालीन दुर्दशामा यस उपन्यासको रोचक र युक्तिसङ्गत कथावस्तु बनेको वातावरण उल्लेख्य छ ।
घ. दृष्टिविन्दु :
कथात्मक दृष्टिविन्दु दुई प्रकारका हुन्छन् । १. आन्तरिक २. बाह्य ।
आन्तरिक पनि दुई प्रकारका हुन्छन् । क. केन्द्रीय र ख. परिधीय । त्यस्तै बाह्य दृष्टिविन्दुचाहिँ १. सर्वदर्शी २. सीमित र ३. वस्तुपरक गरी तीन प्रकारका हुन्छन् ।
बिस्मात उपन्यासमा दुवै किसिमको दृष्टिविन्दुको प्रयोग भएको पाइन्छ । कतिपय अवस्थामा संवादात्मक शैलीमा कथानकलाई गतिशील तुल्याइएको छ भने कतिपय अवस्थामा गौण वा तटस्थ रुपमा उपन्यासकारले घटना वर्णन गरेको पाइन्छ । यसरी हेर्दा ‘म’ पात्र मुख्य पात्र नरही गौण रुपमा समाख्याता रहेकाले आख्यानमा मुख्य घटनाको केन्द्र अर्कै पात्र बनेको छ । तसर्थ यो उपन्यासमा प्रयोग भएको दृष्टिविन्दु आन्तरिक परिधीय दृष्टिविन्दु हो ।
त्यस्तै कथामा दृष्टिविन्दु पात्र तृतीय पुरुषमा रहँदा बाह्य दृष्टिविन्दु हुन्छ । यस उपन्यासमा मानसिक संसारको विचरण नगरिएको हुँदा सर्वदर्शी र वस्तुपरक दृष्टिविन्दु भएको पात्रहरुको प्रयोग अधिकांश पाइन्छ । उपन्यासकारले सबै पात्रका भावना, प्रतिक्रिया, विचार आदि समाविष्ट गर्दै ती पात्रहरुको आन्तरिक जीवनको चिनारी दिएकाले अधिकांशतः सर्वदर्शी दृष्टिविन्दु भएका पात्र समाविष्ट छन् भने अरु वस्तुपरक दृष्टिविन्दुमा निर्भर देखिन्छन् । जस्तै केही उदाहरण हेरौँ ः आन्तरिक परिधीय दृष्टिविन्दुको उदाहरण ः १. सरहरु चौरमा आएको देखेपछि दुई जना विद्यार्थीहरु पनि कक्षाकोठाबाट बाहिर निस्के । (पृ. १०५)
२. विद्रोहको राँको झोस्न त योग्यताले तलमाथि पार्दो रहेछ भने भोलि राज्यका अङ्ग र संरचना हाँक्न क्षमता, योग्यता र दक्षता चाहिने मात्र होइन, अनिवार्य हुने प्रस्टै छ । (पृ. १४९)
त्यस्तै तृतीय पुरुषको सर्वदर्शी दृष्टिविन्दुको उदाहरण हेरौँ ः १. बन्दुक बोकेर हिँडेका काहालीलाग्दो समयको समीक्षा गर्न विकासले घन्टा र दिन होइन हप्तौँ बितायो । (पृ. १४९)
२. बिजुली बत्तीको उज्यालो चमकले विशु अबेरसम्म निदाउन सकेन .. । (पृ. ७८)
वस्तुपरक दृष्टिविन्दुको उदाहरण यसप्रकार छ ः गोधुली साँझको परिदृश्य साँच्चै रोमाञ्चक थियो । रमिते डाँडामा डुब्न लागेको सूर्यले सबैको प्रकाश छेकिसकेको थियो । (पृ. १४)
ङ. सारवस्तु :
कृति पढिसकेपछि समग्रमा हामी त्यसमा जुन भावार्थ वा अभिप्राय पाउँछौँ त्यही नै सारवस्तु ९त्जझभ० हो । कृतिमा कुनै न कुनै विचार वा भावको बीज– रुप प्रत्यक्ष वा प्रच्छन्न रुपमा रहेको हुन्छ । तसर्थ यस्ता भाव वा विचारले मानव मनमा वा समाजमा परिवर्तन ल्याउन सक्तछ ।
जीवनदृष्टिविनाको लेखक र विचारविहीन उपन्यासको कल्पना गर्न सकिँदैन । तसर्थ यिनको उपन्यासमा प्रमुख र अतिरिक्त गौण वैचारिक प्रवृत्तिहरु रहेको पाइन्छ । राजनीतिको कारण देश, सरकार र जनताले भोगेको पीडाको उत्खनन् गरी समाजमा छर्लङ्ग देखाउनु लेखकको प्रमुख वैचारिक पक्ष हो भने मानिस भएर पनि मानिस नभएको जस्तो समाज देखिनु गौण वैचारिक व्यङ्ग्य चेत हो । तसर्थ यस उपन्यासले गैरीगाउँका बासिन्दाले भोग्नु परेको पीडाको समस्यालाई उठाएको छ । उपन्यासले मानवीय क्रुरता, उदण्डता र दानवीय स्वरुपसमेत प्रस्तुत गरेर चरम विसङ्गतिको पराकाष्ठा नाघेको देखाएको छ । निर्दोष मानिसको हत्या गर्ने हिंस्रक पशुको घोर भत्र्सना गर्न पर्नेमा प्रतिक्रियाबिहीन गाउँको मनोदशा एवम् बाध्यतालाई उजागार पारेको छ । गाउँमा भएको कुरुप र नकारात्मक कामको सुन्दर प्रस्तुति यस उपन्यासको सकारात्मक पाटो हो । यद्यपि समाजको परिवर्तन नचाहने कालो यथार्थलाई बढवा दिई उदाङ्गो पार्नु जरुरी छ । साथै स्थानीय तहमा हुने भ्रष्टाचार र समाजको शोषण, अन्याय र विभेदजसता घटनाको थप परिचय समाविष्ट गर्नु आवश्यक छ । फ्रायड भन्छन्– यौन नै मानव जीवनको सम्पूर्ण क्रियाकलापको उर्जा शक्ति हो । यदि फ्रायडको यो विचारलाई मान्ने हो भने प्रेममा अस्वीकार पाएको विकास त्यही कारणले उग्रपन्थी भई विद्रोही पार्टीमा हाम फाल्दछ । पुनः यौनकै कारणले आत्मसमर्पण गर्न तयार रहेको देखिन्छ । यहाँनिर यौनलाई दमन गर्नु तिरसकार हो भन्ने गौण उद्देश्य देखा पर्दछ जुन नेपाली समाजमा चल्दै आएको छ ।
च. शीर्षकको सार्थकता :
बिस्मातको अभिधा अर्थ हुन्छ– ‘कुनै दुःखपूर्ण घटनाबाट पछि हुने शोक वा सन्ताप ।’ यसरी केलाउँदा बिस्मात उपन्यासको प्रमुख पात्र विकासको आत्मसमर्पणको कारण शीर्षक सार्थक देखिन्छ । बहिनी बिजुलाको हत्या र अभिभावकको विक्षिप्तता अनि घरगाउँमा कसैले पनि बास बस्न नदिएको वास्तविकतापछि विद्रोही विकासको आत्मसमर्पणको उपसंहारसम्म मिलेको पाइन्छ ।
समाजलाई मुठीमा लिएर चलाउन सकिन्छ भन्ने भ्रम पालेका विकासजस्ताको अपरिपक्व मनस्थितिको कारण असल नागरिकले धेरै दुःख पाएका छन् । योग्यता, दक्षता, क्षमता जहाँ पनि लागू हुन्छ । विधिबिनाको डण्डा चलाएर देश अघि बढ्दैन भन्ने महसुस भएर विद्रोही पक्षको विकासले राज्यपक्षसँग जुन आत्मसमर्पण गर्दछ त्यो जायज, उचित र मानवीय निर्णय भएकाले शीर्षक सार्थक देखिन्छ ।
२. रुप विन्यास :
कथावस्तुलाई स्पष्ट निश्चित आकार प्रदान गरिसकेपछि आख्यानकारले यसलाई सुन्दर बनाउन प्रयोग गर्ने युक्ति नै रुपविन्यास हो । जसअन्तर्गत भाषा, शैली, बिम्ब, प्रतीक आदि तत्वहरु समावेश रहन्छन् ।
भाषाशैली :
उपन्यासमा गैरीगाउँको घटनालाई तृतीय पुरुष पात्रको प्रयोगबाट संवादात्मक शैली अवलम्बन गरी कथानकलाई अघि बढाइएको छ । यसैगरी गाउँमा पुगेको लेखकको दृष्टिले त्याहाँको जीवनशैलीलाई अत्यन्त सरलता र सहजताका साथ प्रस्तुत गरेको छ । मोटरगाडीको हेडलाइटझैँ लेखकको द्रष्टा कुदिरहेको छ । बिना भेदभाव उज्यालो टहक जहाँजहाँ पर्छ त्यहाँत्यहाँ लेखिएको पाइन्छ । शिष्ट तरिकाले लेखकले विद्रोही र सुरक्षाकर्मी दुवैका कुकृत्यलाई नाङ्गेझार पारेका छन् । गैरीगाउँका मान्छेहरु बाँच्नुको कुनै स्पष्ट अर्थ छैन, यही अर्थ स्पष्ट गर्न उपन्यासकारले त्यहाँको समाजको चिरफार गरेका छन् । हत्या र आतङ्कको चरम अवस्थामा कहालीलाग्दो पक्षहरु उठाएर उपन्यासमा उनले कारुणिक अवस्थाको सिर्जना गरेका छन् । कतै कन्सिरी तातेर पीडा सहन गारो पारेको अवस्था पनि छन् । लेखकको दृष्टिले अन्त्यतिर प्रथम पुरुषको लगाम हातमा लिएको देखिन्छ भने आख्यानमा बेलाबेलामा यिनको दृष्टिविन्दु सरेको पाइन्छ । मिश्रित दृष्टिविन्दुमा सरल संवादको वाक्य गठन, सुबोध्य र सम्प्रेषणीय लाग्दछ । यसमा मिथकहरुको पुनसिर्जन छँदैछैन । आपतविपतमा मान्छेहरु मूर्ख बन्दछन् तैपनि उनका पात्रहरुमा असभ्यता, अशिष्टता र अश्लिलता झल्कने संवाद पाइँदैन । थेगो र उखान टुक्काको प्रयोगले यिनको आख्यान सशक्त बनेको छ । केही उखान टुक्काहरु यसप्रकार छन् ः
१. कि आँटले कि झाँटले गरिखान्छ – पृ. ३४, २. कि हस्तिनापुरको राज कि चपरीमुनिको बास – पृ. ३४, ३. फलाम काट्न फलाम नै चाहिन्छ – पृ. ८९, ४. बिना मियोको दाइँ जस्तो – पृ. २६, ५. बिउ र निउँ धेरै चाहिन्नँ – पृ. ५३ ।
त्यस्तै उनले थेरै मात्राको थेगो प्रयोग गरेको पान्छ । जस्तैः चाइनीजो क्यारे आदि । पात्रको स्तरअनुसारको संवादहरु सुहाएका छन् । यसैगरी उपन्यासमा अनुकरणात्मक शब्दहरुको पनि प्रयोग भएको पाइन्छ । जस्तै ः प्यारप्यार – पृ. १८, टिनीमिनी – पृ. ७९, झल्झल्ती – पृ. ६६, टिर्रर – पृ. ९६, हुँक्कहुँक्क – पृ. ९४, ढकढक – पृ. ८६, स्वाँठहरु – पृ.९२ आदि ।
त्यस्तै आगन्तुक शब्दहरुको प्रयोग पनि उपन्यासमा भेटिन्छ ।
अङ्ग्रेजी भाषाको शब्द प्रयोग यस प्रकार छन् ः
पिटी, एरिया इन्चार्ज, पार्टी कमिटी, कमरेड, बङ्कर, बुलेट, सेन्ट्री, फोटो, डिलिट, क्यामेरा, रिल – पृ. ८१, मेजर – पृ. १३०, लप्टन – पृ.१३०, फ्रक – पृ.१३१, म्याकडोनल्ड – पृ. १३४
झर्रो नेपाली शब्दको प्रयोग उदाहरण यस प्रकार छन् ः
पुन्की – पृ. ६७, थाङनोथरो तग्ने – पृ. ३७, खुँखार – पृ. १०२, त्यान्द्रो – पृ. ८७, सार्दम– पृ.६०, भागभुरो – पृ. ८४, बडारकुँडार – पृ.७९, अभर – पृ.६८, अत्तो – पृ. ६०, झ्याँगा – पृ. ४६, खान्तेपिन्ते – पृ. १२२, लिच्चड – पृ. १३३ ।
उर्दु÷हिन्दी शब्दको प्रयोग यसप्रकार रहेको छ ः चल – पृ. ९२, मेहेरो, टाँक – पृ. १३१, सदगत्, मलामी, माल – पृ. १३४ ।
उच्च आदरार्थी शब्दहरु पनि उपन्यासमा प्रयोग भएको पाइन्छ । जस्तै ः मर्जी भा – पृ. १३५, फक्र्याइसिन्छ – पृ. १३४,
यसरी उपन्यासमा मधुर ललित मिठासपूर्ण चिन्तनले आकर्षक र प्रभावात्मक औपन्यासिक भाषिक प्रयोग भेटिन्छ । पात्रअनुसारको भाषा प्रयोग चिन्तनको प्रवाहपूर्ण प्रस्तुति, तार्किकता, बिम्ब– प्रतीकको रोचक, मनमोहक प्रस्तुति यी यावत् प्रयोगले उपन्यासको विन्यास स्तरीय र उत्कृष्ट बनेको छ । सामान्यतः हिन्दी, अङ्ग्रेजी, संस्कृति आदिको प्रभाव स्वाभाविक देखिन्छ । यसरी तत्सम, तत्भव र आगन्तुक शब्द प्रयोगले घटनाको प्रस्तुतीकरण सुगठित बनेको छ भने उखान टुक्काले भाषागत रुपमा थप सौन्दर्य थपेको छ ।
मूल्याङ्कन/निष्कर्ष :
मान्छेको जीवनमा देखिने यथार्थ अनुभवलाई ढाकछोप नगरी जस्ताको तस्तै नाङ्गो रुपमा प्रयोग गर्ने प्रवृत्ति बिस्मात उपन्यासमा भेटिन्छ । मान्छेको विकासको क्रममा ज्ञान, बुद्धि, विवेक, मर्यादा, आदर्श व्यावहार आदिको विकास भएर सभ्य युगमा पुगेको आजको सन्दर्भमा पनि मान्छे भित्रभित्रै बर्बर, हिंस्रक, पाशविक आदिम प्रवृत्तिले ग्रस्त छ भन्दै यथार्थका चित्रण गर्नु यिनको अभिष्ट भएको छ । राजनीतिक क्षेत्रका दुर्नियत, विकृति र विसङ्गतिको चरम नाङ्गो रुपको उद्घाटन गर्नु सञ्जेलको उपन्यासको सक्कली चित्रण हो । त्यसैले अहिलेको मान्छे कति तल खसेको छ वा खस्दैछ त्यसको दर्पणछाँया प्रकट गर्नु सञ्जेलको उपन्यासको यथार्थ प्रवृत्ति हो । यस्तै सोझो, सरल, स्वाभिमानी मान्छेका लागि संसार विषाक्त भइसकेको सन्देश विनियोजित गरेको यथार्थ उपन्यासमा पाइन्छ । साथै मानवीय मूर्खताप्रति पनि यिनले कठोर चित्रण गरेका छन् ।
सञ्जेलले उपन्यासमा आलोचनात्मक यथार्थता प्रकट गरेका छन् । समाजको नैतिकताको बिक्री, परिवर्तनका नाममा शक्ति हत्याउने प्रवृत्तिजस्ता जल्दाबल्दा विसङगतिप्रति आलोचनाको यथार्थ स्वर उराल्नु सञ्जेलको नवीनता हो । नैतिकताको पतन, मर्यादाको उल्लङ्घन, भ्रष्टाचारको बिग्विगी, अमानवीयताको पराकाष्टा, अत्याचारको जग्जगी यस्ता पक्षहरुले समाज रोगग्रस्त र भयावह हुँदै गइरहेकोप्रति यिनले आलोचना गरेका हुन् । बिम्बको प्रतीकको बौद्धिक प्रयोगमार्फत बिस्मात उपन्यास प्रभावोत्तेजक, आकर्षक र रोचक छ । उपन्यास रैखिक कथानकमा शृङ्खलाबद्ध छ । ‘प्रतिक्रियावादी राज्यसत्ता भनेको कागजी बाघ हुन्,’ भन्दै भाइबन्धुलाई खाडलमा पुर्ने द्वन्द्वको आगोरुपी कथावस्तुमा कलम चलाउने उपन्यासकारको यस साहसिक कमदप्रति हार्दिक बधाई ज्ञापन गर्दछु ।
२०७७ जेठ १० अध्यक्ष, दूधौली प्रज्ञा–प्रतिष्ठान, सिन्धुली