काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। बुधबार थप एक संक्रमितको निधन भएसँगै ज्यान गुमाउनेको संख्या ९ पुगेको हो।
कोरोनाका कारण ज्यान गुमाउनेमा दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्ध रहेका छन्। उनको महाराजगञजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो।
बुधबार कोरोना भाइरस संक्रमण पश्चात आइसीयुमा उपचाररत बिरामीको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।
उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेमा भर्ना भएका थिए। कोरोना पुष्टि पश्चात उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको थियो। बुधबार पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ।
बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६७, पाल्पाका २, रूपन्देहीका २६, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना गरी २ सय १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।