काठमाडौँ, जेठ २२ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजेट भाषणपछि मूल्यवृद्धि हुनसक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको जानकारी दिनुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
गोरखापत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो, “तीन÷चार दिनसम्म उपत्यका लगायत ठाउँका ठूलादेखि साना व्यापारिक फर्म, खाद्यान्न उद्योगको गहन र सूक्ष्म अध्ययन गर्छौं, कैफियत भेटियो भने बजार हस्तक्षेप गरेर अनुगमन गर्ने र कानुन अनुसार कडा कारबाहीको प्रक्रियामा जान्छौँ । ”
मन्त्री भट्टले अहिले दैनिक उपभोग्य वस्तुको भाउ महँगो हुनुपर्ने कारण कुनै नभएको भन्दै कसैले पनि मूल्य बढाउन नपाउने र गरेको प्रमाणित भए कारबाहीको भागी हुनैपर्ने बताउनुभयो । सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत भारतबाट आउने चामल लगायतका खाद्यान्नमा एक प्रतिशत भन्सार वृद्धि गरी नौ प्रतिशत पु¥याएको छ । यसअघि भारतबाट आउने चामल लगायतमा भन्सार दर आठ प्रतिशत थियो । भन्सार वृद्धिको असर हरेक खाद्यान्नमा पर्न थालेको छ ।
स्वदेशमा सञ्चालन भएका चामल मिल र व्यापारीले एक प्रतिशत वृद्धि भएको भन्सार दरलाई आधार बनाएर चामल, दलहन लगायत खाद्यवस्तुको भाउ बढाउन थालेका छन् जब कि भन्सार स्वदेशी मिल सञ्चालक र उत्पादक उद्योग कसैलाई पनि लागू हुँदैन । मन्त्री भट्टले विभिन्न बहानामा बजार भाउ बढ्न सक्नेप्रति सचेत भएर हाल बजारको यथार्थ अवस्था बुझ्न अध्ययन गरिएको छ भन्नुभयो । कुनै पनि बहानामा बजार भाउ उचाल्ने कालोबजारी गर्ने व्यापारिक उद्योग कारबाहीको भागिदार हुनैपर्ने पनि उहाँको भनाइ छ ।
उहाँले भारतीय तरकारी बढी आपूर्ति हुँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर फाल्नुपर्ने अवस्था आएको भन्ने कुरामा पटक्कै सत्यता नभएको बताउनुभयो । मन्त्री भट्टले भन्नुभयो, “हामीले सकेसम्म स्वदेशकै उत्पादनलाई प्राथमिकता दिनुपर्छ भनेर स्थानीय सरकार र तरकारी किसानका सहकारीसँग समन्वय गरेर हाल स्थानीय उत्पादनको आपूर्ति शृङ्खला बनाएर नेपाली किसानबाट उत्पादित तरकारी बजारमा ल्याउने व्यवस्था गरेका छौँ । ”
एकाध ठाउँमा त्यस्ता समस्या देखिए पनि सबैतिर यो अवस्था नभएको दाबी गर्दै उहाँले देशमा बन्दाबन्दी सुरु हुँदा तरकारीको आयात बढे पनि पछिल्ला सातामा आयातको दर धेरै नै घटेको दाबी गर्नुभयो तर आपूर्ति मन्त्रालयको आयातको तथ्याङ्क नेपालमा लकडाउन सुरु भएको पहिलो सातादेखि (चैत ११ देखि १७ गतेसम्म) दसौँ सातासम्म (जेठ १३ देखि १९ गतेसम्म) तरकारी आयात चार प्रतिशतले बढेको देखिन्छ । पहिलो साता छ हजार २८९ मेट्रिक टन तरकारी आपूर्ति भएकोमा दसौँ साता (जेठ १३ देखि १९ गतेसम्म)मा छ हजार ६४५ मेट्रिक टन आपूर्ति भएको छ ।