काठमाडौँ – आम जनस्वास्थ्यको खेलवाड हुनेगरी भारतको कानपुरबाट उत्पादित ब्रिटानिया गुड डे कुकिज बिस्किटमा किरा भेटिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।
काठमाडौं लाजिम्पाट बस्ने ३५ वर्षीय एक युवकले बिस्कुट खान लाग्दा त्यसमा किरा भेटिएको हो । सो बिस्कुट काजु मिसिएको कुकिज बिस्कुट हो । दुई वटा बिस्कुट खाइसकेपछि सो बिस्किटमा जोडी किरा भेटिएको हो ।
नजिकैको पसलबाट मंगलबार खरिद गरिएको सो बिस्कुट खान लाग्दा दुई वटा किरा देखिएको नाम उल्लेख नगर्ने शर्तमा ती युवकले बताए । गत फागुणको पहिलो साता (फेब्रुअरी १८ तारिख) का दिन सो बिस्कुट प्याकिङ गरिएको खोलमा उल्लिखित देखिन्छ ।
बिस्कुट खान हुने अवधि एक वर्ष रहेको छ । ‘तर, प्याकिङ गरिएको तीन महिनामै बिस्कुट अखाद्य हुनु निकै चिन्ताको विषय हो’ ती युवकले भने ‘मैले राम्रै उत्पादन भनेर बिस्कुट किनेको थिँए, तर खान लाग्दा गुणस्तरहीन पाएँ ।’
आम उपभोक्ताको ध्यानाकर्षण गर्न यस घटनालाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न चाहेको पनि उनले बताए । बिस्कुटबारे बुझ्दै गर्दा सोही बिस्कुट खान हुने अवधि भारतमा ६ महिना र नेपालमा एक वर्ष रहेको छ ।
यसले पनि उत्पादक संस्था आम उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील नरहेको भन्न सकिने उनले बताए । बहुराष्ट्रिय कम्पनी ब्रिटानियाले कर्पोरेट नैतिकता उल्लंघन गरेको प्रष्ट हुन्छ, उपभोग्य मिति फरक गर्नु नेपाललाई हेपेको हो, उनले भने ।
उवा उपभोक्ताका अनुसार उनले सोही बिस्किट उत्पादनका नेपालका वितरण व्यवस्थापक उदय श्रेष्ठलाई फोन गरेर गुनासो गरेका थिए ।
तर श्रेष्ठले बहुराष्ट्रिय कम्पनीको उत्पादनमा त्यस्तो हुनैसक्तैन भनेर उल्टै हप्काएको उनले जानकारी दिए । ‘तर पछि श्रेष्ठका सहायकले फोन गरेर ‘सर, तपाईंलाई गिफ्ट ह्याम्पर थियो, कहाँ भेटेर दिऊ’ रे ! हेप्नुको पनि हद हुन्छ नि’ युवाले नेपाल समाचारपत्रलाई बताए ।
उपभोक्ताले नेपाल समाचारपत्रमा भिडियो पनि उपलव्ध गराएका छन्, हेर्नुहोस् भिडियोः