काठमाडौँ, नियामकको अनुमतिबेगर सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार सेवा प्रदायक एनसेल कारबाहीमा परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति नलिई म्याजिक भोइस, वन डे प्याक, लभ डिटेक्सनजस्ता भ्यालु एडेड सर्भिस (भास) सञ्चालन गरेका आधारमा कारबाही अगाडि बढाइएको निर्देशक विजय रोयले जानकारी दिनुभयो । एनसेललाई कारबाही सम्बन्धमा प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
एनसेलले उल्लेखित सेवा अनुमति प्राप्त ९० दिनभन्दा बढी समय प्रयोग गरेको पुष्टि भएपछि कारबाहीका लागि पत्र काटिएको रोयले जानकारी दिनुभयो । यस्ता भास सेवा सामान्यतः ९० दिनसम्म सञ्चालन गर्न दिइन्छ, उहाँले भन्नुभयो, “एनसेलले त्यसपछि पनि अनुमति नलिई त्यस्तो सेवा सञ्चालन गरिरहेको पाइयो । ” दूरसञ्चार ऐन २०५३ मा भएको व्यवस्थाअनुसार एनसेललाई नगद जरिवानासहित कारबाहीको पत्र काटिएको उहाँले बताउनुभयो । ऐनको दफा २४ को उपदफा २ मा ‘कुनै व्यक्तिले यसऐन बमोजिम अनुमतिपत्र नलिई वा अनुमतिपत्रमा उल्लेखित सर्तहरूको पालन नगरी दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पाँच लाख रुपियाँसम्म जरिवाना गरी त्यस्तो काम बन्दसमेत गराउनसक्ने छ’ उल्लेख छ ।
एनसेलले सन् २०१७ मा यस्तो सेवा सुरु गरेको थियो । त्यसको केही समय पनि यसले निरन्तरता पाएपछि उजुरीको आधारमा प्राधिकरणले अध्ययन गरेको थियो । हाल यो सेवा भने बन्द अवस्थामा छ ।
प्राधिकरणले पछिल्लोपटक एनसेलका प्रयोगकर्ताले अनावश्यक ब्यालेन्स काटिरहेको गुनासो गरेपछि त्यसको पनि अध्ययन सुरु गरेको जनाएको छ । निर्देशक रोयका अनुसार उक्त विषयमा अध्ययन भएर प्रतिवेदन तयारीको क्रममा छ ।
यस्तै प्राधिकरणले अनुमति नलिई इन्टरनेट सेवा परीक्षण गरेको र त्यससम्बन्धी दररेटसमेत सार्वजनिक गरेको भन्दै डिसहोमलाई पनि सचेत गराएको छ । डिसहोमले इन्टरनेट सेवा प्रदायकको अनुमति नलिई इन्टरनेट सञ्चालन परीक्षण गरेको गुनासोका आधारमा प्राधिकरणले अध्ययन गरेको थियो । यद्यपि डिसहोमले अहिले इन्टरनेट सेवा सञ्चालनका लागि प्राधिकरणबाट अनुमति लिइसकेको छ ।