काठमाडौँ – आज ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट बिहिबार ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा विभिन्न जिल्लाका ३ सय ३४ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए। बिहिबार नयाँ पुष्टिसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।
मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ जनामा कोरोनाको पुष्टि भएको देवकोटाले बताए।
यस्तै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ। ज्यान गुमाउने पुरूष केही दिनअघि भारतबाट आएका थिए।
नेपालमा थप १२ जना डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालमा उपचार भइरहेका १२ जना डिस्चार्ज भएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ सय ९० पुगेको छ।