असारबाट लकडाउन खुकुलो !

काठमाडौं । सरकारले असारबाट मात्र लकडाउनलाई खुकुलो बनाउने भएको छ । ७३ औं दिनदेखी जारी लकडाउन खुकुलो बनाउन जनस्तरबाटै दबाव परिरहेको सरकारले यसविषयमा थप छलफल गरेर मात्र निर्णय लिने बताएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सरकारले पूर्ण रुपमा भने लकडाउन असोजदेखी मात्र खोल्ने लक्ष्य समेत राखेको छ । मानिसको दैनिक जिवन पनि सजिलो बनाउने र संकट पनि नियन्त्रण लिदै जाने गरी मोडालिटी तयार पार्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार बसेको मन्त्रिपरिषद्को बैठकमा लकडाउनको मोडालिटीका विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्केन । विभिन्न क्षेत्रका विज्ञसँग बुधबार छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई समेत नियन्त्रणमा लिन सक्ने गरी मोडालिटी बनाउनु पर्ने बताएका छन् ।

मन्त्रिपरिषद्ले लकडाउनको मोडालिटी बनाउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । समितिलाई निर्देशन दिएपनि त्यहापनि छलफल टुंगि सकेको छैन । समितिमा रहेकाहरु अहिले दोधारमा रहेका छन् । एकतर्फ संक्रमण दैनिक बढिरहेको छ भने अर्कोतर्फ नागरिक नै अवज्ञा गर्दै पसल संचालन गर्न थालेपछि के गर्ने भन्ने अन्यौलमा देखिएको छ । यद्यपी चरण चरणमा गरेर लामो समयपछि मात्र पूर्ण रुपमा लकडाउन खोल्ने योजनामा रहेको एक मन्त्रीले बताए । तर, अझै पनि त्यो टुंगो लागेको छैन ।

समितिले सरोकारवालासँग छलफल जारी राखेकाले मोडालिटी तय गर्न ढिलाइ भएको एक मन्त्रीले जानकारी दिए । ‘लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुन्छ । विज्ञ र सरोकारवालासँग छलफल गरेर सुझाव एकीकृत गरेपछि मात्रै त्यसबारे टुंगो लाग्नेछ’, एक मन्त्रीले भने,‘ विभिन्न चरणमा छलफल भईरहेकाले पूर्ण रुपमा टुंगो लगाउन केही समय लाग्ने देखिएको हो ।’ उच्चस्तरीय समन्वय समितिले बिहीबार पनि शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको छ । बैठकमा प्याब्सन, एनप्याब्सन, हिसानलगायतका प्रतिनिधि थिए ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले फैलँदो संक्रमणदर कम गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने गरी लकडाउनको मोडालिटी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । ‘अहिले कसरी हुन्छ कोभिड–१९ महामारी संकट व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखौँ, बढिरहेको संक्रमणदरलाई कसरी कम गर्न सकिन्छ ?, अर्थतन्त्रलाई कसरी चलायमान गर्न सकिन्छ, त्यस हिसाबले मात्र लकडाउनको मोडालिटी बनाउनुपर्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘त्यसका लागि सबैसँग अझै परामर्श गरौँ र त्यस आधारमा उच्चस्तरीय समितिले बनाएको कार्ययोजनामा छलफल गरेर पास गरौँला ।’

क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीले १ असारदेखि लकडाउन खुकुलो बनाउँदै जाने गरी अगाडि बढ्ने विस्तृत स्वरुपको मस्यौदा तयार पारेको छ । रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीएमसीले तयार पारेको मस्यौदामा ७० दिनपछि सम्पूर्णरुपमा लडडाउन खोल्न सक्ने गरी अगाडि बढ्ने योजना छ । पाँच चरणमा विभिन्न क्षेत्र खोल्दै जनजीवन सहज बनाउन सकिने सीएमसीको प्रक्षेपण छ ।

प्रकाशित : शुक्रबार, जेठ २३, २०७७०२:२६

लालपुर्जा नेपालको, भूमि कब्जामा भारतको !