गाउँपालिका अध्यक्षले जिते कोरोना !

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर आज घर फर्किएका छन् । यही जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको उनमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो ।

जेठ ८ गते स्वाब सङ्कलन गरी पठाएकामा चार दिनपछि आएको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उच्च आत्मबल राखे कोरोनालाई सहजै जित्न सकिने अध्यक्ष पोखरेलले बताए ।

गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आरडिटी गरिएको थियो । जसमध्ये एक जना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब सङ्कलन गरी पठाइएकामा स्वयं अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गुल्मीमा १५५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष पोखरेलको सम्पर्कमा आएका सबैको स्वाब जेठ १८ गते सङ्कलन गरी पठाइएको थियो । जसमध्ये धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मी, वडाध्यक्षलगायत गरी कूल ८९ जना रहेका थिए भने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिलगायत गरी ५६ जना रहेका थिए ।

गुल्मीमा हालसम्म कूल पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई निको भएका छन् । दुई को तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ भने एकको मृत्यु भएको छ ।

प्रकाशित : शनिबार, जेठ २४, २०७७१३:५५

सडकमा बस्ने सानुकान्छा र मुगाको हातबाट प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन !