संसारमा धेरै प्रकारका मानिसहरु हुन्छन । कोही मानिस बुद्धिमान र गुणवान हुन्छन् भने कोहि धनवान् अर्थात् धनी हुन्छन् । त कतिपय चाहिं धन तर गुणका कंगाल हुन्छन् । पूर्वीय दर्शनका नीतिशास्त्री चाणक्यले धन हुने तर गुणविहिन व्यक्तिको साथ त्यागि हाल्नु नै अति उत्तम हुने उल्लेख गरेका छन् ।
यो दुई दिने चोलाको कुनै भरोसा र ठेगान हुदैन । त्यसैले जुन काम गरेर केहीबेर मै पछुताउनु पर्छ भने त्यस्तो काम नगर्नु नै बेस मानिन्छ । यदि गलत काम गर्न उक्साउने , अरुको अगाडी हाँसोको पत्र बनाउने खालको साथी छ भने त्यस्तासँग साथ या संगत तत्काल छोडिहाल्नु नै अति उत्तम मानिन्छ ।
तपाइँको कुरा नै नसुन्ने र आफ्नो मात्र भन्नेको साथ छोड्नुस् । बिनाकारण झगडा गर्नु मुर्खको काम हो । बुद्दिमानले यस्तो गर्दैनन् । यस्तो गर्नेसँग संगत छ भने तत्काल छोडिदिनुस् ।
मित्र कृतज्ञ व्यक्ति हुनुपर्छ , जसले सत्य बोलोस् र तपाइप्रति कृतज्ञता देखाओस । यसो नगर्ने केवल तपाइँलाई दोषमात्र दिने व्यक्तिसँग संगत छ भने आजै छोड्नुस् ।
अधर्मले कमाएको धनले परलोकमा दुःख दिन्छ । गलत कार्यबाट धन/पैसा कमाउन उक्साउने साथी छ भने आजै देखि साथ छोड्नुस् । यस्ताले तपाइको कहिल्यै भलो चिताउदैनन् ।