सार्वजनिक यातायात खुलाउने तयारी: यात्रुले स्यानिटाइजर बोक्नुपर्ने, मास्क लगाउनै पर्ने !

काठमाडौँ – सरकारले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । विभागले सार्वजनिक यातायातमा यात्रु सुरक्षित राख्न र जिम्मेवार बनाउन सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको हो।

लकडाउन खुकुलो बनाउने सरकारको नीतिसँगै सार्वजनिक यातायात खोल्नुपर्ने अवस्था छ। तर, यात्रु तथा सार्वजनिक यातायातका चालक कोरोनामा जोखिममा हुन सक्ने भन्दै दुवै पक्षलाई जिम्मेवार र सुरक्षित बनाउन निर्देशिका बनाएर छिट्टै लागू गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

प्रस्तावित निर्देशिकाका अनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाउन पाइनेछ। यदि कसैले आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन्। सञ्चालन हुने गाडी दैनिक रुपमा गाडीमा डिस-इन्फेक्सन स्प्रे छर्कनु पर्नेछ। यसको निगरानी ट्राफिक प्रहरीले गर्नेछ।

बसपार्क तथा बिसौनीहरुमा यात्रुहरुले सामाजिक दूरी कायम गरी लामबद्ध भएर सवारी चढ्नुपर्नेछ भने । यसको निगरानी नेपाल प्रहरीले गर्नेछ। सार्वजनिक यातायातमा यात्रा गर्ने हरेक यात्रुले मास्क लगाएको हुनुपर्नेछ भने आफैंले स्यानिटाइजर बोकेको हुनुपर्नेछ। साथै सम्भव भएसम्म यात्रुहरुले भाडा डिजटल (विद्युतीय) माध्यमबाट गर्न पर्नेछ।

सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाइने भएसँगै भाडा बढाउन यातायात व्यवसायीहरुले माग गरेका छन्। सिट क्षमताको आधा यात्रु बोक्न बोक्दा व्यवसाय घाटामा जाने भन्दै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गरेका हुन्। भाडा नबढाउने हो भने अनुदान दिनुपर्ने व्यवसायीहरुको माग छ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७०१:३२

आमाको दूधबाट कोरोना सर्छ कि सर्दैन ? यसो भन्छन् डाक्टर !