सरिता गिरि भन्छिन् – “लिम्पियाधुरा नेपालको भूमि होइन, नक्सालाई मेरो समर्थन छैन”

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरिले लिम्पियाधुरा नेपालको भूभाग नभएको दावी गरेकी छन्। एक निजि टेलिभिजनसंगको अन्तर्वार्ताको क्रममा नेतृ गिरिले लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्विकार नगर्ने दावी गरिन्।

“त्यो तपाईको भनाई हो ऋषिजी, लिम्पियाधुरा नेपालको भाग हो, यो त म पनि स्वीकार गर्दिन् । तपाईले भनेर हुन्छ ?”,उनले भनिन्।

लिम्पियाधुरा लगायतका क्षेत्र कानुनी रुपमै नेपालको नरहेको उनको दावी छ। आफू भारतको पक्षमै नभई आफू शान्तिको पक्षमा बोलेको तर्क गरिन्।

“नेपाल सरकारले जारी गरेको नक्सामा मैले अपनत्व लिनु पर्ने कारण के?”, नेपाल सरकारले नक्सा सार्वजनिक गरेको विषय माथि प्रश्न गर्दै उनले भनिन्। बिना प्रमाण, बिना आधार सरकारले ल्याएको नक्साको आफूले समर्थन नगर्ने उनले बताइन्।

“अन्य दलले बिना प्रमाण ल्याएको नक्साको मैले किन समर्थन गर्ने। म त्यस्तो कुनै पनि हालतमा गर्दिन।”,उनले भनिन्,”सीमामा राष्ट्रियता हुँदैन, प्रमाण हुन्छ।”

१९५० को सन्धिको आधारमा पछिल्लो सम्पूर्ण सन्धि निरस्त भइसकेको हुँदा पूराना सन्धिलाई लिएर भूमि दाबि गरिनु गलत हुन जाने उनको तर्क छ। यस्तै सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र संघमा दर्ता गराएको नक्सामै लिपुलेक लगाएतका क्षेत्रमा नरहेको उनको दावी छ।

“युनाईटेड नेशन्सको सदस्यता लिने बेलामा नेपालको जुन नक्सा स्विकृत भाको छ, नेपाल अन्तर्राष्ट्रीय समूदायमा त्यो नक्साविपरित जान सक्दैन् । त्यसैले गर्दा यो राष्ट्रवादको नाममा जनतालाई भ्रमित गर्ने काम यो सरकारले गरिराछ ।”,उनको भनाई छ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७०४:४१

उत्तर प्रदेश तथा विहारको निम्न चापीय प्रणालीको नेपालमा प्रभाव, अधिकांश ठाउँमा पानी पर्ने !