लकडाउनले घट्यो तापमान: दैनिकजसो भइरहँदा पहिलाको जस्तो भएन गर्मी !

विराटनगर, पूर्वी तराईमा जेठ महिनामा सधैँझैँ गर्मी छैन बरु पानी परेपछि चिसोको अनुभव यहाँका बासिन्दाको छ । बन्दाबन्दीले सवारी साधनको चाप नहुँदा र दैनिकजसो भइरहेको वर्षाका कारण पनि तापमान नबढेको जानकारहरूको भनाइ छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

धरानमा रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयको तथ्याङ्कले समेत विगत वर्षहरूको तुलनामा यस वर्ष तराईको तपक्रम कम भएको देखाउँछ ।

सो कार्यालयले मापन गरेको सुनसरी जिल्लाको धरानको तपाक्रमको तथ्याङ्कले यही कुराको पुष्टि गर्छ । गत वर्षहरूभन्दा यो वर्ष ताममान न्यून देखिएको छ । दुई वर्षअघि २०७५ जेठ २५ गते अधिकतम तापक्रम ३६.३ र २०७६ जेठ २५ गते ३७.७ डिग्री सेल्सियस अद्यावधिक गरिएकोमा यो वर्षको जेठ २५ गते ३३.५ डिग्री सेल्सियसमा सीमित रहेको छ ।

उक्त स्थानमा अघिल्ला दुई वर्षको तुलनामा यो वर्षको जेठ २० देखि २५ सम्मको अधिकतम औसत तापक्रम पनि कम रहेको उक्त कार्यालयले जनाएको छ । २०७५ साल जेठ २०–२५ को अवधिमा धरानको औसत अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस र २०७६ को सोही अवधिमा ३७.७ डिग्री सेल्सियस रेकर्ड भएको थियो । २०७७ सालको जेठको सोही अवधिमा औसत अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियसमा झरेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार विराटनगरको तापक्रममा भने अघिल्लो एक वर्षको तुलनामा पछिल्ला दुई वर्षमा नै तापक्रम केही कम देखिएको छ ।

२०७५ को जेठ २५ गतेसम्ममा विराटनगरको तापक्रम ३७.४ डिग्री सेल्सियस पुगेकोमा त्यस यताको दुई वर्षको जेठ महिनाको सोही अवधिमा क्रमशः ३४.५ र ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

त्यस्तै, २०७५ जेठ २० देखि २५ गतेसम्मको सरदर तापक्रम ३५.५ डिग्री रहेकोमा पछिल्ला दुई वर्षको सोही अवधिमा अधिकतम तापक्रमको औसत क्रमशः ३१.३ र ३२ डिग्री सेल्सियस रहेको उक्त कार्यालयका प्रमुख विकास देउजाले जानकारी दिनुभयो ।
विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका वनस्पति शास्त्रका उपप्रध्यापक तथा वातावरण विज्ञ रामचन्द्र अधिकारी विगत वर्षहरूको तुलनामा यस वर्ष विराटनगरमा गर्मी कम भएको दाबी गर्नुहुन्छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण साढे दुई महिनादेखिको बन्दाबन्दीले वायु प्रदूषण कम भई पृथ्वीको सतह पनि कम तातेकाले गर्मी कम भएको उपप्रध्यापक अधिकारीको तर्क छ । सवारी साधन र उद्योगधन्दा बन्द हुँदा वायु प्रदूषण कम भई हावा पातालो हुँदा सतहको तापक्रम कम हुन गएको अधिकारीको दाबी छ ।

त्यसैगरी जल तथा मौसम विज्ञान कार्यालय धरानका मौसम विज्ञान सहायक मुकेश सिल्पकार तराईमा यस वर्ष गर्मी कम हुनुमा बन्दाबन्दी नै प्रमुख कारण हुन सक्ने बताउनु हुन्छ ।

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७०३:०३

जसपामा शक्तिशाली बाबुराम…