कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु !

सांकेतिक तस्विर

चितवन – नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । उनी दमका बिरामी हुन् । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने÷नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले जानकारी दिए।

शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए।

परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए। सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७०३:३९

पाँच जनाको हत्या गरेको आशङ्कामा एक जना पक्राउ !