“राष्ट्रघाती सरिता गिरीको सांसद पद खोसियोस्”

काठमाडौँ – लिम्पियाधुरा लगायतका भूमि नेपालको नभएको दावी गरेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरिको राजिनामा माग भएको छ।

नेपाल-भारत बीचको सीमा विवादलाई लिएर विवादित बयान दिँदै आएकी गिरिले प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिनुपर्ने जनस्तर तथा राजीनितिक स्तरबाट माग भएको हो।

सांसद गिरि कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरेको विषयमा पनि विरोध गर्दै आएकी छन्। भारतसंग छलफल नगरी नक्सा सार्वजनिक गरिनु गलत रहेको उनको अभिव्यक्ति रहने गरेको छ।

यसै बीच भारतको पक्षमा ओकालत गर्दै आएकी उनको राप्रपाका अध्यक्ष कमल थापाले पनि राजिनामा माग गरेका छन्। लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने व्यक्तिसँग संसदमा रहने नैतिक आधार नहुने थापाको बुझाई छ।सांसद गिरिले आफ्नो भनाई फिर्ता लिनुपर्ने अथवा पद त्याग्नुपर्ने थापाले सामाजिक संजाल ट्वीटरमा उल्लेख गरेका छन्।

“लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने/स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ।”,थापाले ट्वीटरमा लेखेका छन्।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले पनि सरिता गिरीलाई राष्टघातीको संज्ञा दिएका छन् ।सामाजिक सञ्जाल ट्विटरमार्फत गिरिलाई संकेत गर्दै राष्ट्रघातीहरुको सांसद पद तत्काल खोस्न सरकारसँग माग गरेका छन्।

“नेपाली भुमीलाई नेपालको होइन भन्ने जोसुकै भए पनि राष्ट्रघाती हो। त्यस्ता राष्ट्रघातीहरुको सांसद पद तत्काल खोस्नु पर्दैन?”,हेल्लो सरकारलाई मेन्शन गर्दै प्रश्न गरेका छन् ।

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७०६:२९

लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई कारवाही गर्न सांसदहरुको माग !