भारतीय पूर्वमन्त्रीले भने – “हामी स्वतन्त्र हुनुमा नेपालको ठूलो भूमिका छ”

काठमाडौँ – भारतका पूर्व बाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उनले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने गतिविधिको अन्त्यका लागि रचनात्मक संवादमा विश्वास राखेर सहानुभूतिका साथ वार्ता गर्नुपर्ने अपरिहार्यतालाई औँल्याएका छन् ।

श्री सिन्हा र नीति विश्लेषक एवं स्तम्भकार अतुल ठाकुरका नाममा प्रकाशित टिप्पणीमा सहज र असहज अवस्थामा भारत र नेपाल साथसाथै रहनुपर्छ, कूटनीतिक वार्ता जतिसक्दो चाँडो पुनः प्रारम्भ हुनुपर्छ भनिएको छ ।

नयाँदिल्ली र काठमाडौँस्थित दुवै देशका राजदूतावासलाई स्वतन्त्रपूर्वक कार्यसम्पादन गर्न दिनुपर्ने तथा २०७२ सालको जस्तो परिस्थिति कुनै पनि हालतमा दोहोरिन नहुने टिप्पणीमा उल्लेख गरिएको छ ।

“कोभिड–१९ को सङ्कटकाल भनेर भारत वार्ताबाट पन्छिन मिल्दैन, बाह्य मामिला मन्त्रालयको पछिल्लो वक्तव्य व्यवहारमा रुपान्तरण हुनुपर्छ, रचनात्मक वार्ताको माध्यमबाट विश्वास र भरोसालाई पुनःस्थापना गर्नैपर्छ”, टिप्पणीमा भनिएको छ ।

महामारीको समय छिमेकसँग शत्रुतापूर्ण व्यवहार गर्ने बेला नभएको, वर्तमान समयमा दक्षिण एशियामा सुदृढ क्षेत्रीय र उपक्षेत्रीय सहयोगलाई गति दिने नेतृत्व भारतले गर्नुपर्ने सुझाव दिइएको छ ।

“भारत र नेपालको सम्बन्ध वर्तमान सरकार र कूटनीतिभन्दा अधिक महत्वयुक्त छ, सभ्यताकालदेखिको साझा सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धका कारण दुवै राष्ट्रबीचको अन्योन्याश्रित सम्बन्ध सरकारबीचको मात्र होइन, भारतलाई सुरक्षित राख्ने यु-द्धकौशलमा उत्कृष्ट गोर्खा राइफल नेपालीबिना अपूर्ण हुन्छ, त्यसैले पारस्परिक द्वन्द्वको कुनै स्थान छैन, भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपाली जनता लडेका थिए”, टिप्पणीमा उल्लेख गरिएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७०८:५५

भारतीय भूमिमा चिनियाँ सेनाको घुसपैठ भएको भन्दै संसदको बैठक बोलाउ माग !