काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सांसद गंगा चौधरी सतगौवाले सुगौली सन्धि खारेज गरेर त्यस सन्धिका कारण गुमाएको भूमि दावी गरिनुपर्ने बताएकी छन्।
लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक माथिको छलफलमा भाग लिँदै मंगलबार प्रतिनिधिसभामा सांसद सतगौवाले यस्ती बताएकी हुन्।
भारतले नै सुगौली सन्धि नमान्ने हो भने नेपालले मात्र सो सन्धिलाई मानिराख्नु नपर्ने उनको तर्क छ। भारतसंग हेपिएर बस्न नसकिने भन्दै उनले ग्रेटर नेपालको नक्सा निकाल्न सरकारसँग माग गरिन्।
“भारतले सुगौली सन्धि मान्दैन भने नेपालले मात्र मानिराख्नु पर्ने अवस्था छैन। हाम्रो भूगोलको निमित्त सुगौली सन्धिलाई निलम्बन गरी ग्रेटर नेपालको नक्सा निकाल्नु पर्छ।”,उनले भनिन्।
यस्तै सांसद चौधरीले भारतसँग तनाव उत्पन्न भएको अवस्थामा नेपालक उच्च अधिकारीहरु नै भारतको पक्षमा लाग्ने गरेको आरोप पनि लगाएकी छन्। यसरी नेपाल विरुद्ध लाग्नेहरु माथि कानुन बमोजिम कारवाही गर्न उनको माग पनि छ।
“राज्यको उच्च पदहरुमा बस्नेहरुको शरीरमा जब विदेशी राज्यको रगत सलबलाउन थाल्छ, तब नेपालको राष्ट्रियता खलबलाउन थाल्छ।”,उनले भनिन्,”त्यसको उदाहरण त संसदमै छ। केहि सांसदहरुले नेपालको भन्दा पनि भारतको चिन्ता गरेको देख्दा उदेक लाग्छ।”
संसदमा त्यस्ता सांसदहरुको बाहुल्यता भएको अवस्थामा देशलाई गार्हो पर्ने उनले बताइन्।