चीन र पाकिस्तानविरुद्ध गोर्खा सेनाको प्रयोग रोक्न ग्रेटर नेपालको माग !

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय गोर्खा सेना सम्बन्धी नेपाल , बेलायत र इन्डियाबीच सन् १९४७ नोभेम्बर ९ मा भएको त्रिपक्षीय सन्धि रद्द गर्न माग गरेको छ।

मंगलबार परराष्ट्रमन्त्रीलाई प्रदिप ज्ञवालीलाई एक ज्ञापनपत्र बुझाउँदै सन् १९४७ नोभेम्बर ९ मा भएको त्रिपक्षीय सन्धि रद्द गर्न र नेपालका छिमेकी तथा मित्रराष्ट्र चीन र पाकिस्तानविरुद्ध गोर्खा सैनिकको प्रयोग रोक्न इन्डियालाई दबाब दिन माग गरेको हो।

शत्रु ठानेका राष्ट्रहरू नेपालका मित्र भएका हुँदा ती मित्रराष्ट्रविरुद्ध गोर्खा सैनिक प्रयोग गर्नु गलत हुन जाने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जनाएका छन्।

साथै भारतको लागि लड्दा ज्यान गुमाएका गोर्खा सैनिकको लास घरपरिवारलाई जिम्मा नलगाउनु अमानवीय हुन जाने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली संसद् मा व्यस्त रहेको भनिएकाले परराष्ट्र मन्त्रालयको सार्क महाशाखाका प्रमुख सहसचिव यज्ञबहादुर हमाललाई ज्ञापनपत्र बुझाइएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिए।

ज्ञापनपत्रको बोधार्थ चीन , पाकिस्तान , श्रीलंका र बंगलादेशका विदेश मामिलासम्बन्धी मन्त्रीलाई पनि दिइएको छ । ज्ञापनपत्र बुझाउन अध्यक्ष नेपाल र कोषाध्यक्ष नवीना खड्का गएको जानकारी दिइएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७११:५१

संसदमा विशाल नेपालको कुरा: राष्ट्रियतामाथि धावा नबोल्न चेतवानी !