काठमाडौँ – लिम्पियाधुरा लगायतका भूमि नेपालको नभएको दावी गरेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरिको सर्वत्र आलोचना भएको छ। नेपाल-भारत बीचको सीमा विवादलाई लिएर विवादित बयान दिँदै आएकी गिरिले प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिनुपर्ने माग समेत उठेका छन्।
यसै बीच चर्चित अभिनेता तथा हाँस्यकलाकार दिपक राज गिरिले पनि यस विषयमा टिप्पणी गर्दै भारतीय चेलीले नेपालको पक्षमा नभई भारतको पक्षमा बोल्नुलाई नौलो मान्न नहुने बताएका छन्।
सामाजिक संजाल फेबुकमा एक स्ट्याटस लेख्दै गिरिले सरिताको शाब्दिक अर्थ नदी रहेको उल्लेख गरेका छन्। सबै नदी नेपाल हुँदै भारत तर्फ बग्ने गरेको भए पनि एक नदी(सरिता) भने भारतबाट उल्टो बगेर नेपाल तर्फ आएको र उल्टो बगेर आएको व्यक्तिबाट सुल्टो कुरा आश गर्न नहुने दिपकको भनाई छ।
“सरिताको शाब्दिक अर्थ नदी हो!! सबै नदीहरू नेपाल हूंदै भारत तिर बग्ने गर्दछ। तर, हामीकहाँ एउटा यस्तो नदी छ, जो भारत हुँदै नेपाल तिर उल्टो बगेर आएको छ… जो आफै उल्टो बगेको छ, उसबाट सुल्टो किन आश गर्ने”,फेसबुकमा दिपकले लेखेका छन्। यस्तै उनले नेपाली चेली मनिषाले नेपालको पक्ष लिएको जस्तै सरिताले भारतको पक्ष लिएको दिपकको बुझाई छ।
“मनिषा र सरिता…….यताकी छोरीले यतैको गाइन उताको छोरीले उतैको”,दिपकले लेखेका छन्।