एजेन्सी – भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा १२ हजार भन्दा बढी संक्रमित भएका छन् । बितेको २४ घण्टामा भारतमा १२ हजार ३ सय ७५ नयाँ कोरोना भाइरस संक्रमित फेला परेको हो। यो संख्या हाल सम्मकै उच्च हो।
दैनिक कोरोना संक्रमणमा अहिले भारत विश्वको तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिल पछि दैनिक भारतमा बढी संक्रमित फेला परिरहेका छन्।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्ने क्रममा छ। गत हप्ताको बिहिबार यता मात्रै भारतमा ७० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।
भारतमा अहिले दैनिक कटिब १० हजार भन्दा बढी संक्रमित फेला परिरहेको छ। बिहिबार बिहान सम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ पुगेको छ।
यस्तै भारतमा मृतकको संख्या पनि बितेको २४ घण्टामा ह्वातै बढेको छ। बितेको २४ घण्टामा त्यहाँ ३ सय ८८ जनाको ज्यान गएको छ। यो संख्या पनि अहिले सम्मकै उच्च हो। यस भन्दा अगाडी भारतमा कुनै पनि दिनमा ३ सय जना भन्दा बढीको ज्यान गएको थिएन।
भारतमा ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७ पुगेको छ। भारतमा अहिले सम्म करिब १ लाख ४१ हजार संक्रमित निको भएर घर फर्किसकेका छन्।
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्यामा देखिएको उच्च वृद्धिले भारत कोरोनाबाट अझ बढी प्रभावित हुने देखिएको छ। युरोप र अमेरिकामा कोरोना संक्रमितको संख्या नियन्त्रणमा आएपनि दक्षिण एसियामा र दक्षिण अमेरिकामा भने संक्रमितको संख्या बढ्दो छ।