काठमाडौं । सरकारले विदेशबाट उद्धारका नाममा नेपाली श्रमिकबाट चर्को भाडादर उठाउने निर्णय गरेको छ । जापानमा निक्कै महंगोमा टिकट विक्रि गरेको भनेर छानविन गरिरहेको पर्यटन मन्त्रालयले खाडी मुलुकका कामदारबाट चर्को भाडा असुल गर्ने निर्णय कार्यान्वयन गर्न भनेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
सरकारले खाडी मुलुकबाट मात्र एकतर्फी टिकटको मुल्य करिव ६० हजारदेखी ९८ हजार रुपैयाँसम्म तोकेको हो । यो सामान्य अवस्थाको भन्दा झण्डै तेब्बरसम्म भाडा दर रहेको छ । सरकारले साउदी अरबका दमाम, रियाद र जेद्दाहबाट ७१ हजारदेखी ९२ हजारसम्म भाडा निर्धारण गरेको छ । मासिक ३० हजारको हाराहारीमा कमाई गर्ने कामदार रहेको सो मुलुकमा टिकटको मुल्य तिर्नमात्र उनिहरुले तीन महिनाभन्दा बढिको रकम तिर्नुपर्ने हुन्छ ।
यसैगरी युएईका तीन राज्य दुबई, आवुधावी र सारजाहबाट नेपाल आउन ६० हजार रुपैयाँ (पाँच सय अमेरिकी डलर) भाडा तोकेको छ । सामान्य अवस्थामा यी ठाँउबाट नेपाल आउन एकतर्फी भाडा ३० हजारसम्म तिर्नुपर्ने हुन्छ । युएईमा रहेका कतिपय नेपालीहरु यति चर्को मुल्यमा आफुहरु घर फर्किन नसक्ने बताईरहेका छन् । भारतले त्यहाबाट आफ्ना नागरिकलाई ८ सय दिराममा जुनसुकै शहरको टिकट काटेर लगिरहेको छ ।
कतारबाट ६५ हजार ४ सय , जोर्डनबाट ९७ हजार ८ सय र ओमनबाट ६१ हजार २ रुपैयाँ भाडा निर्धारण गरेको छ । मलेसियाबाट नेपाल आउन ६२ हजार ४ रुपैयाँ भाडा तोकेको छ । ओमनस्थित नेपाली दूतावासले भने सरकारको निर्णयलाई अवज्ञा गर्दै सस्तोमा टिकट कोटेर पठाउने निर्णय गरेको छ । ‘सरकारले तोकेको ६१ हजार भाडा धेरै महंगो भयो, वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकले यति महंगो भाडा तिर्न सक्दैनन् । त्यसैले हामीले ११५ ओमानी रियल (करिब ३४ हजार नेपाली रुपैयाँ) मै ओमानबाट स्वदेश फर्काउने निर्णय गरेका छौं । यहाँबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन’, दूतावास स्रोतले भन्यो ।
ओमानस्थित नेपाली दूताबासले निकालेको आधिकारिक सूचनामै स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल बझाउनुपर्ने भनिएको छ । र, सोही भाडादरमा करिब साढे ३ सय नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको स्रोतले बतायो । ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् । त्यसैगरी असार ७ गते त्यति नै संख्यामा नेपालीहरु स्वदेश फर्कंदैछन् । उनीहरुले सरकारले तोकेको महंगो भाडादर बुझाउनु नपर्ने, ११५ ओमानी रियल बुझाए पुग्ने दूताबासले स्पष्ट पारेको छ ।
यसैबीच, नेपाल वायु सेवा निगमका अपरेशनल विभागका प्रमुख दीपु जुहार्जनले नेपाल एयरलाइन्सले जुन महिनामा मात्रै दुई दर्जन उडान गर्ने बताए । जसअनुरुप जुन १४ तारिखमा बंगलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान हुनेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबइ, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।
त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जल्स या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । जुन महिनाका विभिन्न मितिमा हिमालय एयरलाइन्सले बंगलादेश, श्रीलंका, मलेशिया, कतार, साउदी अरब, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ ।