काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब ३ लाख पुगेको छ। बितेको २४ घण्टामा ११ हजार भन्दा बढीमा कोरोनाको पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ३ लाख नजिक पुगेको हो। यो समाचार तयार पार्दा सम्म त्यहाँ कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ।
बितेको २४ घण्टामा मात्रै त्यहाँ ११ हजार १ सय २८ नयाँ संक्रमित फेला परेका छन्। भारतमा एकै दिन फेला परेको यो दोस्रो ठूलो संक्रमित संख्या हो। यस अगाडी बुधबार सबै भन्दा धेरै एकै दिन १२ हजार ३ सय ७५ नयाँ संक्रमित फेला परेका थिए।
कोरोना संक्रमित संख्यामा भइरहेको लगातार वृद्धिसँगै भारतले कुल संक्रमितको संख्यामा बेलायत र स्पेनलाई पछि पारेको छ। यससँगै भारत कोरोनाबाट अति प्रभावित चौंथो मुलुक बन्न पुगेको छ।
यस्तै भारतमा कोरोनाका कारण बितेको २४ घण्टामा हाल सम्मकै बढी मृत्यु भएको छ। शुक्रबार बिहान सार्वजनिक तथ्यांकका अनुसार बितेको २४ घण्टामा भारतमा ३ सय ९४ जनाको ज्यान गएको छ। यससँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय १ पुगेको छ।
भारतका १ लाख ४६ हजार ९ सय ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने सक्रिय कोरोना संक्रमणका केश १ लाख ४२ हजार ८ सय १० छन्।