काठमाडौँ – सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरिसकेको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण हुने गरी स्थगित गर्ने सरकारको निर्णय आइसकेको छ।
एसइई बारे सरकारको निर्णय आएसँगै अहिले कक्षा ११ र कक्षा १२ को परीक्षा के हुने हो भन्ने बारे चासो बढेको छ। कक्षा ११ र १२ को परीक्षाको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अहिले लगातार छलफलमा छ।
एसइई जस्तै कक्षा ११को परीक्षालाई पनि विद्यालय आफैंले आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्न सकिने व्यवस्था गर्न सकिन्व विज्ञहरुको सुझाव छ।
शिक्षा ऐनमा कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनु पर्ने बाध्यकारी व्यवस्था छैन । यसै कारणले गर्दा कक्षा ११ को परीक्षा विद्यालय आफैले लिन सक्ने विज्ञहरु बताउँछन्।
विज्ञहरुका अनुसार कक्षा ११ को परीक्षा विद्यालय आफैंले संचालन गर्न कानुनी रुपमा कुनै बाधा नरहेको हुँदा त्यसै गर्न सकिन्छ। तर, कक्षा १२ को परीक्षा भने अनुकुलता मिलाएर संचालन गर्नुपर्ने बाध्यता छ। कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने व्यवस्था शिक्षा ऐनमै गरिएको छ । परीक्षाबारे अर्को निर्णय लिन ऐनमै संशोधन गर्नुपर्ने हुन्छ ।