काठमाडौँ – केहि दिन देखि देशैभर सरकार विरुद्ध आन्दोलन भइरहेको छ। स्वतन्त्र रुपमा सडकमा उत्रिएका युवाहरुले कोरोना नियन्त्रणमा सरकारको उपलब्धि माथि प्रश्न उठाइरहेका छन्।
यो क्रम शुक्रबार पनि जारी छ। शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। लकडाउनका बेला प्रदर्शन गरे पक्राउ गर्ने गृह मन्त्रालयको चेतावनीलाई बेवास्ता गर्दै युवाहरु सडकमा उत्रिएका छन्।
प्रदर्शनमा उत्रिएका युवाहरु माथि केहि स्थानहरुमा भएको दमनको जनता समाजवादी पार्टी (जसपा)ले विरोध गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै जसपाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको हो।
केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भइसकेको र त्यसले प्रदर्शन निम्त्याएको जसपाले विज्ञप्तिमा उल्लेख गरेको छ। सरकारले जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेको जसपाको आरोप छ।
“के.पी. शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको छ । मुलुकमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग लगायत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमितमा बढ्दै गएको छ । ओली सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शनहरु भईरहेका छन् । सरकारले जनताका आवाजलाई सम्वोधन गर्नुको सट्टा हेपाहा प्रवृति देखाई शान्तिपूर्ण जनप्रदर्शन माथि दमन गरेकोमा सो कार्यको घोर भत्सर्ना गर्दै यस्ता दमनात्मक कार्यलाई बन्द गरी जनताका न्यायोजित आवाजलाई तुरुन्त सम्बोधन गरिनु पर्दछ ।”,विज्ञप्ति मार्फत जसपाले भनेको छ।