अहिले सम्मकै बढी व्यक्तिमा कोरोनाको पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो !

काठमाडौँ – शुक्रबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ४ सय २४ जना पुरुष र २४ जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।

एकै दिन ४ सय जना भन्दा बढीमा कोरोनाको पुष्टि भएको यो पहिलो पटक हो। यस अगाडी बिहीवार २५० जनामा, बुधवार २७९ जनामा र मङ्गलवार ३२३ जनामा सङ्क्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो।

नेपालमा कोरोना भाइरस संक्रमणको पुष्टि भएकाहरु मध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन्। शुक्रबारको नयाँ पुष्टिसँगै ७२ जिल्लामा कोरोना पुगेको पुष्टि भएको छ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

प्रकाशित : शुक्रबार, जेठ ३०, २०७७१०:४२

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने जसपाको निर्णय