काठमाडौँ – सरकारले २ सयभन्दा बढी सक्रिय संक्रमित भएकाे जिल्लामा पुनः लकडाउन गर्न सक्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड, २०७७ मा २ सयभन्दा बढी सक्रिय संक्रमित भएकाे जिल्लामा पुनः लकडाउन गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ।
कोरोना भाइरस संक्रमणको दर दिन-दिनै बढ्दै गएको अवस्थामा लकडाउनलाई खुकुलो बनाउँदै लैजाने सरकारले निर्णय गरेपछि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरू प्रयोग गरी समग्र मुलुकलाई सामान्यीकरणमा लैजानको लागि मापदण्ड ल्याइएको हो।
स्वास्थ्यमन्त्रालयले लकडाउन खुकुलो भएसँगै सबै किसिमको जमघट र भेटघाटमा कम्तिमा ६ फिटको दूरी कायम गर्न सुझाएको छ। मास्कको प्रयोग र साबुन पानीले अनिवार्य हात धुन पनि मन्त्रालयको सुझाव छ। मापदण्डमा आधारभूत र स्वास्थ्यगत रुपमा पालना गरेर दैनिक कार्यमा सक्रिय हुन मन्त्रालयले सुझाव दिएको छ।
जिल्लामा संक्रमित संख्या ५० देखि २०० सम्म हुँदा मात्रै माथि उल्लेखित कुराहरू पालना गरेर व्यवसाय सञ्चालन सकिने भए पनि २०० नाघेपछि भने उक्त जिल्ला पुनः लकडाउन गर्नुपर्ने मन्त्रालयको मापदण्ड छ।