काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सुगौली सन्धि भारतले नमाने टिस्टा र काँगडा नेपालको हुने बताएका छन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद लिङ्देनले सुगौली सन्धि नमान्ने हो भने भारतले टिस्टा र काँगडा नेपाललाई छाड्नुपर्ने बताएका हुन्। सुगौली सन्धि नमान्ने भारतले टिस्टा र काँगडा नेपाललाई छाड्नुपर्ने बताए।
“भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगड छाड्नुपर्छ। भारतलाई हामीले बुझाउनुपर्छ, अनि उसले गल्ती स्वीकार्छ। सम्भव छ, हामी सक्छौँ हाम्रो भूमि फिर्ता ल्याउन।”,उनले भने।
साथै उनले नेपाल भारतको भाइ नरहेको पनि स्पष्ट पारे। नेपाल भारतको भाइ भन्दा पनि मित्र रहेको उनले बताए। नेपालले भारतसँग दुष्मनी भन्दा पनि आफ्नो भूमि चाहेको उनको भनाई छ। “हामी भारतको भाइ होइनौँ, मित्र हौँ। हामीले भारतसँग दुष्मनी बढाउन चाहेको होइन, हाम्रो भूमि खोजेको हो।”,उनले भने।
यस्तै उनले नेपालको एकीकरण गर्ने राजसंस्था माथि अनेक आरोप लगाउन नहुने पनि स्पष्ट पारे। प्रचण्डले राजसंस्थाले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएको प्रति लक्षित गर्दै उनले यस्तो भनेका हुन्।
“जसले यो देश निर्माण गरे, जसले नेपाल राष्ट्र र नेपालीको परिचय दिए, उनैमाथि भूमि बेचेको आरोप लगाइयो। कसैलाई आलोचना गर्ने र धक्कु लगाउने दिन होइन यो।”,उनले भने।