ऐतिहाँसिक खबर: नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित !

काठमाडौँ – नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी बहुमतले पारित गरेको हो।

सभामुख अग्नी सापकोटाले निर्णयार्थ प्रस्तुत गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को विपक्षमा मत जाहेर गर्ने कोहि पनि नभएपछि विधेयक दुई तिहाई भन्दा बढी बहुमतले पारित भएको घोषणा गरे।

दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक शनिबारको प्रतिनिधिसभा बैठकबाट पारित भयो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्। दफावार छलफलमा भाग लिँदै सम्पूर्ण सांसदहरुले विधेयकको समर्थनमा आफ्नो धारणा राखेका थिए।

छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्तासमा सभामुखले मतदानको घोषणा गरेका थिए।

मतदानमा संशोधन विधेयकको पक्षमा २५८ मत खस्यो भने विपक्षमा एक मत पनि खसेन ।

सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानूनमन्त्री डा तुम्बाहाङ्फेले जेठ ११ गते प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेकी थिइन् । त्यसपछि सर्वसाधारणको जानकारीका लागि नेपालपत्रमा प्रकाशन गरिएको थियो ।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७१२:१०

नेपाल एयरलायन्सको भाडादर घट्यो ! कुन देशबाट नेपाल आउन कति [ सूचीसहित ]