नेपाल एयरलायन्सको भाडादर घट्यो ! कुन देशबाट नेपाल आउन कति [ सूचीसहित ]

काठमाडौँ – नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ ।

नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आजै मन्त्रालयमा छलफल गरी हालको प्रस्तावित हवाई भाडादरमा पुनरवलोकन गर्न निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेका थिए ।

विभिन्न देशमा रहेका नेपालीका पिरमर्कालाई ध्यानमा राखी निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको स्पष्ट गरेको छ ।

सो निर्णयबाट विशेष गरी खाडी राष्ट्र, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको जनाउँदै निगमले आफू सम्पूर्ण नागरिकको सेवामा सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल वायुसेवा निगमका अनुसार मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ । नयाँ भाडादरअनुसार अब मलेसियाको भाडा ३७२ डलर कायम भएको छ । पहिला त्यहाँबाट आउन ४६५ डलरबाट तोकिएको थियो। साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ ।

यस्तै दोहाबाट आउँदा यसअघि ४९० डलर तोकिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट आउँदा ४५० डलर भाडा निर्धारण गरिएकोमा अब ३६० डलर लाग्नेछ ।

ओमानको भाडा ३६८ तोकिएको छ। बहराइनबाट ३९२ डलरमा आउन सकिनेछ भने कुवेतबाट नेपाल आउन ४१० डलर लाग्नेछ। जोर्डनको भाडा ७७५बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलरमा झारिएको छ।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७१२:२५

इतिहाँसमा लेखिने यो दिन: लिपुलेकसम्म फैलियो नेपालको भूगोल !