काठमाडौँ – लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधनका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव दुई तिहाइभन्दा बढी मतका साथ पारित गर्यो।
सभामुख अग्नी सापकोटाले निर्णयार्थ प्रस्तुत गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को विपक्षमा मत जाहेर गर्ने कोहि पनि नभएपछि विधेयक दुई तिहाई भन्दा बढी बहुमतले पारित भएको घोषणा गरे।
दफावार छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस्” भनी गरिएको प्रस्ताव उपर मतदान संचालन भयो। मतदानमा संशोधन विधेयकको पक्षमा २५८ मत खस्यो भने विपक्षमा एक मत पनि खसेन । संसदमा उपस्थित भएका सम्पूर्णले विधेयकको समर्थनमा मतदान गरे।
शनिबारको संविधान संशोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद भने अनुपस्थित रहेका थिए । जस मध्ये ४ जना सांसद भने निलम्बनमा छन्। निलम्बित सांसदहरूमा हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार रहेका छन् ।
विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्याल रहेका छन्। उनीहरु सबै आजको बैठकमा अनुपस्थित थिए। सरिता गिरी आजको बैठकमा सहभागी भएर पनि बैठक बहिष्कार गर्दै बाहिरिएकी थिइन्।