“एक ढिक्का भएर नक्सालाई संविधानको अङ्ग बनाइयो, अब विदेशी सेनालाई फिर्ता पठाउनुपर्छ”

काठमाडौँ – लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधनका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव दुई तिहाइभन्दा बढी मतका साथ पारित गरेपछि गगन कुमार थापाले गर्वको अनुभूति भएको बताएका छन्।

नेपाली कांग्रेसका प्रभावशालि नेता तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले सामाजिक संजाल फेसबुक तथा ट्वीटर मार्फत सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव एक ढिक्का भएर पारित गरेको र त्यसमा सहभागी हुन पाएकोमा खुसि व्यक्त गरेका हुन्।

“आज ऐतिहासिक दिन!सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ।”,खुसि हुँदै थापाले लेखेका छन्।

उनले आजको दिनलाई ऐतिहासिक दिन पनि भनेका छन्। अब सबै नेपाली एकताबद्ध भएर नेपाली भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउनुपर्ने पनि उनको भनाइ छ।

“अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ।”,थापाले ट्वीटरमा लेखेका छन्।

साथै उनले संविधान संशोधनको प्रस्ताव भएको अवसर पारेर सामाजिक संजालक प्रोफाइल तस्विर पनि परिवर्तन गरेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश भएको नक्सा अहित उनले प्रोफाइल तस्विर परिवर्तन गरेका हुन्।

 

प्रकाशित : शनिबार, जेठ ३१, २०७७१३:३६

जहाँ ‘हुन्न’ भन्ने आवाज सुनिएन…