विप्लवले भने – “नक्सा ल्याएर मात्र हुँदैन, भूमि पनि फिर्ता ल्याउनु पर्छ”

काठमाडौँ – प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा पारित गरिनु देशको हितमा एक कदम अगाडि भएको बताएका छन्।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै विप्लवले एक विज्ञप्ति निकालेर देशको हितमा एक कदम अगाडि बढेको बताएका हुन्।

नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएकाले जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्सा संसद्बाट पास गर्न बाध्य भएको उनको भनाई छ।

“भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसका विरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएका छन् । उक्त जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरू समेटिएको नक्सा संसद्बाट पास गर्न बाध्य भएको छ ।”,विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन सरकारसंग विपल्वको माग छ।

“तथापि सरकार र संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ । हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ ।”,विज्ञप्तिमा उनले भनेका छन्।

प्रकाशित : आइतबार, जेठ ३२, २०७७०६:४६

कैलालीका थप पाँच स्थानमा बिओपी स्थापना !