अब निजी अस्पतालमा कोरोना परीक्षण

काठमाडौं । सरकारले संकलन गरिएका स्वाबहरु निजी अस्पतालमा परीक्षण गराउने निर्णय गरेको छ । देशभर रहेका २२ वटा परीक्षण केन्द्रमा अत्याधिक चाप परेपछि निजी अस्पताललाई पनि परीक्षणमा सहभागी गराउने निर्णय गरेको हो । सरकारले दैनिक परीक्षणको क्षमता बढाउदै लगेपनि क्वारेन्टाइनमा रहेका व्यक्तिको चाप नघटेपछि निजी क्षेत्रलाई पनि समेट्न लागेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

आइतवारसम्म देशभरका क्वारेन्टाइनमा १ लाख ४३ हजार ६४१ जना रहेका छन् । ल्याबहरुमा पनि अझै केही दिनलाई पुग्ने स्वाब रहेको र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पिसिआर प्रविधिबाट परीक्षण गरेपछि मात्र घर पठाउनुपर्ने हुन्छ । सरकारले पछिल्लो केही समयदेखी दैनिक पिसिआर परीक्षण गरिरहेको छ । आइतबारमात्र अहिलेसम्मकै सबैभन्दा बढि ६ हजार ८९ जनाको परीक्षण गरेको छ । हालसम्म भने १ लाख ३३ हजार ३७७ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना परीक्षणमा निजी क्षेत्रलाई जोड्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि कार्यविधि लगभग तयार भएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना परीक्षणमा निजी क्षेत्रलाई सहभागी गराउने नीतिगत निर्णय भइसकेको छ । कार्यविधि तय गरेर कार्यरूप दिन बाँकी छ । कोरोना परीक्षणमा निजी र सार्वजनिक क्षेत्र जोड्न दुईवटा निर्णय गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिए ।

पहिलो चरणमा केन्द्रीय र प्रादेशिक ल्याबमा जम्मा भएका स्वाबहरू मात्र निजी ल्याब, क्लिनिकहरूलाई परीक्षण गर्न अनुमति दिइने छ । सुरुआती चरणमा सरकारले नै संकलन गरेका स्वाबमात्र निजी ल्याबहरूलाई परीक्षण अनुमति दिइने छ । स्वाब परीक्षण गर्न चाहने निजी ल्याबहरूलाई आवेदन दिन आह्वान गरिएको छ । जसमा २१ संघसस्थाले इच्छा देखाएको बताइएको छ । सरकारले तोकेको मामदण्ड पूरा गरेका संस्थाले मात्र परीक्षण गर्न पाउने छन् ।

सरकारले नमुना संकलन गरेर निजीले परीक्षण गरेको प्रति स्वाब पाँच हजार पाँच सय रुपैयाँ उपलब्ध गराइने भएको छ । कुनै व्यक्तिले निजी अस्पतालमा गएर नभई सरकारले संकलन गरेको स्वाबमात्र जाँच गर्न दिइने भएको हो । जसका लागि जनस्वास्थ्यको मापदण्ड पूरा गरेका, कर भुक्तानी गरेका, सम्बन्धित निकायबाट अनुमति प्राप्त गरेका, गैर कानुनी धन्दामा संलग्न नरहेका आदि ल्याबले मात्र परीक्षणका लागि आवेदन दिन सक्छन् ।

सरकारले छनोट गरेर तोकिएको मापदण्ड पूरा गरेका ल्याबलाई मात्र स्वाब परीक्षण गर्न दिइने भएको छ । यसैगरी, भिसा आवेदनका लागि र कूटनीतिक नियोगका कर्मचारीहरूले वीर, पाटन र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना परीक्षण गर्न पाउने छन् । ‘वीर, पाटन र शिक्षण अस्पतालले पनि निजीले स्वाब परीक्षण वापत सरकारले उपलब्ध गराउने रकमभन्दा बढी शुल्क लिन नपाउने गरी कार्यविधि तय गरिँदैछ, त्यहाँ पनि यी दुई क्षेत्रबाहेक अरूले कोरोना परीक्षण गर्न पाउने छैनन’, स्वास्थ्य मन्त्रालयका अधिकारीको दाबी छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित भएकामा ३७५ पुरुष र ५० महिला रहेका छन् । योसँगै हालसम्म कूल संक्रमितको सख्या पाँच हजार ७६० पुगेको छ । यीमध्ये पुरुष पाँच ३२४ र महिला ४३६ छन् । रुकुम पूर्वमा समेत आइतवार संक्रमित भेटिएपछि कोरोनाका संक्रमित ७३ जिल्लामा देखिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् ।

कोभिड–१९ संक्रमणले थप एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ १२ गते रुपन्देहीमा कोभिड पुष्टि भएको थियो । आइसोलेशनमा उपचाररत उनमा क्यान्सर रोगको समस्या थियो । उनी भारतबाट आएका थिए । हालसम्म कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको सख्या १९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : सोमबार, असार ०१, २०७७०२:४२

शिक्षक युनियनले भन्यो – ‘विद्यार्थीबाट शुल्क उठाएर तलब खुवाऊ’