काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् ।
कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र र अन्य माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ । प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाईसमेत ध्यान दिइएको बताए । सरकारले आजदेखि सबै विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ शुरु गराएको छ । प्रधानमन्त्री ओलीले लामो समयसम्म विद्यालय बन्द रहँदा समग्र शैक्षिक सत्र प्रभावित हुने भएकाले बन्दाबन्दीको अवधिमै सूचना प्रविधिका माध्यमबाट पठनपाठनको शुरुआत गरिएसँगै अवको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले अवको जनशक्ति सक्षम, स्वस्थ, शिक्षित र योग्य हुनेमा विश्वास व्यक्त गर्दै विद्यालय तहका विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सिकाइ सामग्री व्यवस्था गरेको र आगामी दिनमा पाठ्यसामग्रीको विकास, प्रयोग र प्रसार गर्ने काममा निरन्तरता दिइने बताए ।
बन्दाबन्दी खुकुलो पारिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले साना नानीहरुको सिकाइको थलो समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिने केन्द्र नबनोस् भन्नेमा शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुनुपर्नेमा जोड दिए।
“मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ?”प्रधानमन्त्री ओलीले भने,”आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन । तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यो मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवस्यक छैन ।