“भारतमा मेरा धेरै सहपाठी छन्, ओलीले अहङ्कार त्यागे वार्ताको सहजीकरण गर्न म तयार छु”

काठमाडौँ – जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफू नेपाल-भारत वार्ताका लागि सहजीकरण गर्न तयार रहेको बताएका छन्।

सोमबार गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले भारतसँग रहेको सीमा विवाद कुटनीतिक तवरले वार्तासंवाद समाधान गर्नु पर्ने र वार्ताका लागि सहजीकरण गर्न आफू तयार रहेको बताएका हुन्।

प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने,”भारतका अहिलेका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सितारमन संयोगले जेएनयूकै सहपाठी हुनुहुन्छ । त्यसले गर्दा पनि एउटा भावनात्मक सम्बन्ध छ । त्यस हिसाबले पनि उहाँहरुले बेलाबेला सम्पर्क गर्नुहुन्छ । वार्ताका लागि वातावरण बनाउनुस् भन्नुहुन्छ।”

वार्ताको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारी प्रवृत्ति बाधक रहेको उनले स्पष्ट पारे। ओलीले अहंकारी प्रवृत्ति त्यागेपछि आफूहरुले वार्ताको लागि सहजीकरण गर्न आफूहरु तयार रहेको उनले सुनाए।

“वार्ताका लागि वातावरण बनाउन सकिन्छ । त्यसका लागि मुख्यतः प्रधानमन्त्री केपी शर्मा वलीको जुन अहंकारी प्रवृत्ति छ, त्यो उहाँले परित्याग गर्नुपर्छ । वार्ताको नेतृत्व त सरकारले गर्नुपर्छ । सहजीकरण गर्न र सहयोगी भूमिका निर्वाह गर्न म तयार छु ।”,उनले भने। कालापानीमा रहेका भारतीय सेना हटाउन पनि बल भन्दा वार्ता गरिनुपर्ने उनको भनाई छ।

“कालापानी क्षेत्रको विषयमा जुन विवाद भइरहेको छ, त्यो भूमि त हाम्रै हो, कसैले खोसेर लान त सक्दैन’, उनले भने, ‘त्यसमा भोग अधिकार स्थापित गर्नका लागि फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई निष्काशित गर्नु एउटा बाटो हुन्छ । यो नेपालको सन्दर्भमा अहिले वुद्धिमानी र व्यवहारिक हुँदैन । अहिलेको विश्वमा यो उपयुक्त पनि हुँदैन । दोस्रो बाटो भनेको अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कुटनीतिक वार्तामार्फत यो समाधान गर्ने हो ।”,उनले भने।

प्रकाशित : सोमबार, असार ०१, २०७७०७:५९

“उसको हत्या भएको हो” – सुशान्तका मामा