काठमाडौँ – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध अभियोग दर्ता भएको छ ।
पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो । जिल्ला सरकारी वकिल कार्यालयले अभियोग दर्ता गराएकाहरुमा नवराज विककी प्रेमिका भनिएकी किशोरी सहित उनका परिवारजन पनि छन्।
अभियोग दर्ता गराएकी मध्ये एक रहेकी किशोरीकी आमाले साविती बयान दिएकी छन्। उनले छोरीका प्रेमी नवराज विकसहित ६ जना युवक माथि भएको घटनाको योजना आफ्ना पति र वडाध्यक्ष डम्बरबहादुर मल्लले बनाएको बयान दिएकी हुन्।
उनले छोरीलाई लिन भनेर जाजरकोटबाट आएका नवराज विकसहितका युवाहरुलाई आफूले जातीय विभेद हुने शब्द डुमसमेत भनेर गाली गरेको स्वीकार पनि गरेकी छन्। उनीहरु त्यहाँबाट फर्किएर गएपछि श्रीमान् र वडाध्यक्ष मल्ललाई बोलाएको र पछि बाटो छेकेर घटना घटेको उनले स्वीकारेकी छन्।
यस्तो छ उनको बयान –
मेरी भतिजी नाता पर्नेसँग नबराज बिकले मेरी छोरीलाई घरबाटै थुतेर लैजान केटाहरु लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई भतिजीलाई मैले फोन गरी बुझ्दा निज नबराज बिकले मेरी छोरीलाई लैजान केटाहरु ल्याएर आउँदैछ भन्ने थाहा पाई निज दलित भएकोले छोरीलाई बिवाह गरी लिएपछि बेइज्जत हुने भएकाले बेइज्जत हुनुभन्दा केटाहरु लिएर आए निजहरुलाई मा-री दिए विवाह हुन नपाउने भएकोले निज नबराज बिकले केटाहरु लिएर आए मा-रीदिने भनि घरपरिवारले सल्लाह गरि योजना बनाएका थियौं।
हामीले योजना बनाई बसेको अवस्थामा मेरो छोरी घर भित्र टिभी हेरी बसिरहेको र म घर बाहिर आँगनमा रहेको अबस्थामा नबराज बिकसमेतका केटाहरु आएको देखी नवराज बिकलाई ‘तँ डुम फेरि किन आईस आज म-र्छस् भनि धम्की दिई’ गा-लिग-लौज गरी कराउँदै मेरो श्रीमानलाई फोन गरी नबराज बिकसमेतका केटाहरु घरमा आएका छन् भनि खबर गरेपछि निज केटाहरु घरदेखि तल तिर गएको र पूर्बयोजना बमोजिम मेरो श्रीमानले वडाअध्यक्ष डम्बर बहादुर मल्ललाई खबर गरेपछि वडाअध्यक्षले पूर्बसल्लाह र योजान बमोजिम गाउँमा खबर गरेको हो।
मैले नबराज बिकसमेतका केटाहरुलाई तलसम्म निगरानी गरेको थिएँ। केही समयपछि मेरो श्रीमान, छोरा, मोहन पुनसमेत घरबाटसँगै केटाहरुलाई पिछा गर्दै गएका थिए भने केही तल वडाअध्यक्ष डम्बर बहादुर मल्लले बोलाएका अन्य जाहेरी दरखास्तमा उल्लेखित प्रतिबादीहरु समेतका गाउँका मानिसहरु आई हातमा लाठी ढुङ्गा ,हँसिया समेत लिई मेरो घरदेखि तलको सडकतर्फ नबराज बि.क. समेतका केटाहरुलाई नियन्त्रणमा लिई मा-र्नको लागी चारैतिर बाट घेरा हाली लखेट्दै गएका थिए । त्यस पछि म घर फर्किएँ।अन्य के भयो मैले देखिनँ । नबराज विकसमेतका केटाहरुलाई लखेट्दै भेरी नदी पुर्याई लखेट्दै गएका ब्यक्तिहरुले कु-टपि-टसमेत गरी नबराजसमेत ६ जनालाई मा-री भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घा-ईते बनाएको थाहा पाएकी हुँ।

