कर्णालीमा एकै दिन १९१ जनाले कोरोना जिते !

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई आज १९१ जना घर फर्केका छन् ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन् ।

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित ३४२ जना निको भई घर फर्केका छन् । स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले कोरोना सङ्क्रमण जितेर घर जानेको क्रम अझैं बढ्ने बताए।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसंगै कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ भने तीन जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।

कोरोना विशेष कार्यक्रम नआएको काँग्रेसको आरोप

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष ०७७÷०७८ को बजेटमा जनताको भावना नसमेटिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आरोप लगाएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले कोरोना महामारीले भयावह अवस्था सिर्जना भइरहेका बेला नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउन नसकेको बताए।

उनले बजेटको उद्देश्य र बनावट हेर्दा राम्रो देखिए पनि बढी प्रचारमुखी भएको बताउँदै ससाना योजनामा रकम छुट्टयाएर कनिका छरे जस्तो भनी आपत्ति जनाए। डा रावलले भने, “कोरोनाबाट आक्रान्त प्रदेशको बजेटमा कोरोना विशेष कार्यक्रम र जनताको जीविका सुनिश्चित गर्ने योजना छैन । ”

बजेटले झन्डै तीन महिना लामो बन्दाबन्दीबाट अस्तव्यस्त जनजीवन सामान्य बनाउने कुनै पनि कार्यक्रम नल्याएको, प्रदेशको कृषि क्षेत्रमा क्रान्ति ल्याउने तथा बाँझो जग्गामा खेती गर्ने खालका कुनै पनि नयाँ योजना नआएको, कोरोना महामारीका कारणले रोजगारी गुमेर प्रदेशभित्र लाखौँ युवा जनशक्ति भित्रिए पनि उनीहरूलाई समेट्ने कुनै पनि रोजगारमूलक कार्यक्रम नल्याएको डा रावलको टिप्पणी छ ।

समग्रमा बजेटले सुदूरपश्चिमका जनताको भावना र मर्मलाई नसमेटेको र कार्यान्वयनमा समस्या हुने डा रावलको भनाइ थियो । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले रु ३३ अर्ब ३८ करोडको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७१४:५६

“भारतीय चेली-बेटीलाई सजिलै नागरिकता दिँदा के हुन्छ सरिता गिरीले देखाइदिइन्”