एजेन्सी – बलिउड अभिनेता सुशान्तसिंह राजपुत प्रकरण पश्चात बलिउड भित्र परिवारवादको राजनीति कति सम्म चल्ने रहेछ भने कुरा छताछुल्ल भएको छ। बलिउडका विभिन्न कलाकार, निर्देशन तथा बलिउडसँग जोडिएका विभिन्न व्यक्तिहरु बलिउडमा पहिला देखि रहिआएको परिवारवादको विरुद्धमा बोलिरहेका छन्।
स्टारकिड्स देखि नामचलेका कलाकारका आफन्त आसपास घुमेको बलिउडको पकडको अहिले सामाजिक संजाल, मिडिया देखि जनजन माझ बहसको विषय बनेको छ। बलिउडका चर्चित कलाकार र निर्देशक अहिले बलिउड भित्रको परिवारवादले आफूहरु माथि पारेको प्रभाव बारे बोलि रहेका छन्।
अभिनेत्री कंगना रणावतले त खुल्लम्-खुल्ला बलिउड भित्र परिवारवादको राजनीतिले सुशान्तसिंह राजपुतको ज्यान लिएको बताइसकेकी छन्। बलिउडमा पाखण्ड मौलाएको भन्दै बलिउड अभिनेत्री कंगना रनावटले पनि चर्को आलोचना गरिसकेकी छन्। बलिउडको भित्रि सर्कलले नयाँ कलाकारहरुलाई टिक्न नदिन अनेक तरिका अपनाउने गरिएको उनले बताइसकेकी छन्।
इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै उनले सुशान्तको निधन बारे टिप्पणी गर्दै सुशान्त जस्तो उत्कृष्ट कलाकारले अवार्ड नपाउनु परिवारवादकै नतिजा भएको दावी गरेकी छन्।
सुशान्तको करियर बर्बाद पार्न बलिउडमा केहि समय देखि खेल शुरु भएको बारे उनले पटक-पटक संकेत गरेको कंगनाको भनाई छ।
यस्तै भारतका पूर्वसासंद सञ्जय निरूपमले आफ्नो ट्विटमा सुशान्तले ६ महिनाको अवधिमा ७ वटा सिनेमा गुमाएको उल्लेख गरेका छन्। ‘छिछोरे’को व्यापक सफलताका बाबजुद् ६ महिनाको अवधिमा ७ वटा सिनेमा गुमाएको उनको भनाई छ। बलिउड आफ्नो पकडमा राख्न चाहनेहरुले सुशान्तबाट ७ चलचित्र खोसेको उनको बुझाई छ।
यसैबीच सुशान्तसिंह राजपुत प्रकरणमा करण जोहर, सलमान खान, यशराज फिल्म्स, टि-सीरिजको भूमिका पनि जोडिन आएको छ। यी उल्लेखित नाम तथा प्रोडक्सन हाउसहरुले सुशान्त माथि प्रतिवन्ध लगाएको बताइन्छ। यस विषयमा चर्चित निर्देशक अनुराग कश्यपका भाइ अभिनव कश्यप पनि अगाडी आएका छन्। सामाजिक संजाल फेसबुकमा एक पोस्ट लेख्दै उनले सलमान खानको परिवार तथा यशराज फिल्म्स लगायत माथि कयौं आरोप लगाएका छन्।
ठूला प्रोडक्सन हाउसहरु आफू नजिककाको करियर बनाउन र बलिउड बाहिरका कलाकारको करियर डुबाउन तल्लिन हुने गरेको उनको आरोप छ। उनले आफ्नो करियर बिगार्न सलमान खान र उनको परिवारको ठूलो हात रहेको पनि खुलासा गरेका छन्। सलमान खान परिवारबाट आफू धेरै नै प्रताडित भएको उनको आरोप छ। उनले सुशान्तसिंह राजपुत प्रकरणमा निस्पक्ष अनुसन्धानको माग पनि गरेका छन्।