काठमाडौँ – बिहिबार ६ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ६ सय ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। यो संख्या अहिले सम्मकै उच्च हो।
यस्तै बितेको २४ घण्टामा नेपालका १९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। बिहिबार डिस्चार्ज हुनेहरुमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार १ सय ८६ पुगेको छ। अहिले सम्म १ हजार ७२ जना पुरुष र १ सय १४ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

हाल सम्म नेपालमा १ लाख ५५ हजार ५ सय १८ पिसिआर परीक्षण र २ लाख ४३ हजार ७५ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ५ हजार ७ सय ४६ पिसिआर परीक्षण र ९ हजार ५ सय ३२ आरडीटि परीक्षण भएको छ।
क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ र आइसोलेसनमा ६ हजार ६ सय ४८ जना रहेको पनि उनले जानकारी दिए।

