रियल म्याड्रिडको सहज जित !

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार रातीको खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ३-० ले पराजित गरेको छ ।

रियलको जितमा करीम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । रियलको सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो ।

खेलको १० औं मिनेटमा घरेलु टोली रियलका फरवार्ड करीम बेन्जेमाको प्रहारलाई गोलरक्षक जास्पर सिलेसेनले बचाए । त्यसको एक मिनेट नबित्दै बेन्जेमाको पासमा इडेन हाजार्डको प्रहारलाई सिलेसेनले उत्कृष्ट डाइभ दिँदै विफल पारे ।

१६ औं मिनेटमा पाहुना टोली भ्यालेन्सिया अग्रता लिनबाट बन्चित भयो । रोड्रीगोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले हल्का छोएपछि पोस्टमा लाग्दै बाहिरिएको थियो ।

खेलको २१ औं मिनेटमा भ्यालेन्सियाका रोड्रीगो मोरेनोले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोग लिँदै त्यसलाई मान्यता दिएनन् । कार्लोस सोलेरको पासमा रोड्रीगोले गोल गरेपनि बल त्यहाँसम्म पुग्दा अफसाइड रहेका खेलाडीलाई छुँदै गएको रेफ्रीको ठहर थियो ।

२९ औं मिनेटमा ड्यानी कार्भाजल पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको अवस्थामा रहेपनि सिलेसेनले राम्रो बचाउ गरे । ३९ औं मिनेटमा कार्भाजलको क्रसमा बेन्जेमाको हेडरले पोस्टको दिशा लिन सकेन ।

४३ औं मिनेटमा भ्यालेन्सियाका जिओफ्री कोन्डोग्बियाले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक कोर्टुवाले सुन्दर बचाउ गरे । त्यसको एक मिनेटपछि क्रुसको कर्नरमा क्यसेमिरोको हेडर सिधै गोलरक्षकको हातमा पुग्यो । इन्ज्युरी समयमा हाजार्डले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षकले सहजै बचाए ।

दोस्रो हाफको ६१ औं मिनेटमा रियलले करीम बेन्जेमाको गोलमा सुरुवाती अग्रता लियो । लुका मोड्रीचको पासलाई हाजार्डले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट बेन्जेमातर्फ दिएपछि फ्रान्सेली फरवार्डले उत्कृष्ट फिनिस गर्दै रियललाई अगाडी बढाएका थिए ।

अग्रता लिएको दुई मिनेट नबित्दै रियलले अग्रता बढाउने अवसर पाएको थियो । बेन्जेमाको पासमा हाजार्डले हतारमा गरेको प्रहार पोस्टभन्दा निकै बाहिर पुगेको थियो । लगत्तै मोड्रीचको लामो दुरीको प्रहारलाई सिलेसेनले कर्नरतर्फ धकेले ।

खेलको ७४ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका थिए । एसेन्सियोले फर्लान्ड मेन्डीको क्रसलाई पहिलो टचमा नै पेनाल्टी क्षेत्र भित्रबाट हाफ भलीमा गोल गरे ।

८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे । एसेन्सियोको क्रसलाई पेनाल्टी क्षेत्र भित्र उत्कृष्ट नियन्त्रण लिएका उनले बल हावामा रहँदै दोस्रो टचमा शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

यस जितसँगै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ । भ्यालेन्सिया भने २९ खेलमा ४३ अंकसहित आठौं स्थानमा यथावत छ ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७०२:४९

बार्सिलोनालाई धक्का, रियल म्याड्रिडलाई फाइदा !