कोरोना रुघाखोकी जस्तै हो भन्ने ओलीलाई कोरोना जितेकी प्रसिद्धीले भनिन्- ‘यो बकवास अत्ति भयो’

काठमाडौँ – बिहीबार राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई सामान्य रुपमा लिएर उच्च मनोबल साथ लड्नुपर्ने बताए। उनले कोरोना रुघाखोकी जस्तै भएको दावी गरे। ओलीले कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ भनेका थिए।

“कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन।”,प्रधानमन्त्रीले भनेका थिए।

प्रधानमन्त्रीको यस भाषण माथि विभिन्न थरिका टिका-टिप्पणी भैरहेका छन्। यस भाषणलाई लिएर विभिन्न प्रतिक्रिया जनाइरहेका छन्। उक्त भाषणले प्रधानमन्त्रीलाई एक पटक पुनः विवादमा तानेको छ।

यसै बीच प्रधानमन्त्रीको भाषणलाई लिएर नेपालमा कोरोना सङ्क्रमण देखिएकी दोस्रो बिरामी प्रसिद्धी श्रेष्ठले पनि आपत्ति जनाएकी छन्। बिहिबार सामाजिक संजाल ट्वीटर मार्फत टिप्पणी गर्दै ओलीको भाषण प्रति आपत्ति जनाएकी हुन्।

ट्वीट गर्दै उनले कोरोना सामान्य फ्लु जस्तो नभएको बताएकी छन्। आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखसँग नखेल्न प्रधानमन्त्रीलाई उनको आग्रह छ। कोरोना भएपछि श्वास फेर्न गाह्रो हुने देखि थकाइ लाग्ने जस्ता समस्या देखिने हुँदा सामान्य रुपमा लिन नहुने उनको बुझाई छ।

“कोरोना र यसका लक्षण भोगेको नाताले मैले भन्न पर्छ – कोरोना सामान्य फ्लु जस्तो होइन। कोरोना संक्रमितहरुलाई श्वास फेर्न गाह्रो हुन्छ, ऊर्जा कमी महसुस हुन्छ, थकाई पनि लाग्छ। कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति भयो ।”,उनले लेखेकी छन्।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७०८:५५

भारतलाई चीनको धम्की – ‘बिचार गर्नु, नेपालसँग पनि सेना छ’